थाइल्यान्ड–म्यान्मार सीमामा बन्धक बनाइएका १३ नेपालीको उद्दार

काठमाडौं । थाइल्याण्ड र म्यान्मारको सीमा नजिक म्यान्मारको म्याबड्डीमा मानव तस्करले बन्धक बनाएका १३ जना नेपालीलाई उद्दार गरी काठमाडौं ल्याइएको छ ।

लामो समयदेखि बन्धकको रुपमा रहेर अलपत्र परेका उनीहरुलाई थाई परराष्ट् मन्त्रालय, थाई इमिग्रेसन ब्यूरो र यांगुनस्थित नेपाली राजदूतावास समेतको समन्वयमा उद्दार गरिएको थाइल्यान्डस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उद्दार गरिएका १३ नेपाली नागरिकलाई शुक्रबार थाइल्याण्डको मेइसोटसम्म कर्मचारी खटाइ थाई–म्यानमार सीमा पार गराइएको थियो ।

उनीहरुलाई नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं ल्याइएको छ । मानव तस्करले उनीहरुलाई थाईल्यान्ड र म्यान्मारको सीमावर्ती क्षेत्रमा बन्धकको रुपमा राखेर अनलाइन जुवातासमा संलग्न गराउने तथा अन्य साईबर सम्बन्धित आपराधिक कार्यमा प्रयोग गरेको यसअघि समाचार सार्वजनिक भएको थियो । उनीहरुले आफूहरु ठूलो संकटमा परेको भन्दै उद्दारका लागि आग्रह गरिआएका थिए ।

Translate »