बढ्दै डिजिटल बैंकिङ
अहिले शहरसँगै दूरदराजका गाउँहरुमा समेत बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेका डिजिटल बैंकिङको पहुँच क्रमशः बढ्न थालेको छ । दुर्गम ठानिएका कर्णालीसँगै सुदूरपश्चिम प्रदेशमा पनि लाखौंको संख्यामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ क्रेडिट कार्ड, डेबिट कार्डलगायतमा डिजिटल उपकरण प्रयोगकर्ता बढ्दै गएका छन् । यद्यपि ! डिजिटल बैंकिङ प्रविधिमा अन्य प्रदेशको तुलनामा कर्णालीमा निकै कम छ । केन्द्रीय बैंकले हालसालै वित्तीय क्षेत्र स्थायित्व प्रतिवेदनमार्फत क्रमशः दुर्गममा डिजिटल बैंकिङ फैलिँदै गएको देखाएको छ । दुर्गम क्षेत्रमा पनि पुरुषमा ६ प्रतिशत र ४ प्रतिशत महिलाहरुले डिजिटल भुक्तानीको प्रयोग गरेका छन् । यो सकारात्मक पक्ष हो । डिजिटल भुक्तानी प्रणालीमा प्रतिशतमा दुर्गम क्षेत्रमा पनि विस्तारै पहुँच पुगेकोलाई सकारात्मक ठान्नुपर्छ । केन्द्रीय बैंकदेखि, बैंक तथा वित्तीय संस्थालगायतले यसलाई धेरै बढावा दिएकाले पनि शहरी क्षेत्रमा राम्रै रुपान्तरण भएको छ । शहरी क्षेत्रमा पनि मध्यम वर्ग र यस माथिमा पहुँच पुगे पनि तल्लो वर्गमा भने अझै पहुँच पुगेको छैन । नेपाल राष्ट्र बैंकको एक अध्ययनले प्रदेशगत रुपमा वित्तीय उपकरण (डिजिटल) का प्रयोगकर्ताको आकर्षण बढ्दै गएको निचोड निकालेको छ ।
प्रादेशिक आर्थिक गतिविधि अध्ययन आर्थिक वर्ष २०८०/०८१ को अर्ध–वार्षिक प्रतिवेदनअनुसार मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छ। जहाँ ७६ लाख १७ हजार ५ सय ९५ ले मोबाइल बैंकिङ चलाउँछन् । तर सबैभन्दा कम मोबाइल बैंकिङ प्रयोग गर्ने कर्णाली प्रदेशमा पनि ५ लाख ९२ हजार ९ सय ३६ को पहुँचमा यो प्रविधि पुगेको छ। नेपाल राष्ट्र बैंकले चालु आवको १० महिना (वैशाख) सम्म सार्वजनिक गरेको तथ्यांकले भने वाणिज्य बैंक, विकास र वित्त कम्पनीको मोबाइल बैंकिङ प्रयोगकर्ता मुलुकभर २ करोड ३७ लाख ९७ हजार हाराहारीमा रहेको उल्लेख गरेको छ । इन्टरनेट बैंकिङ प्रयोगकर्ता पनि सबैभन्दा बढी बागमती प्रदेशमा छन् । जहाँ ७ लाख ९४ हजार २ सय १२ ले इन्टरनेट बैंकिङ कारोबार गरेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा पनि १४ हजार ४ सय ७८ ले इन्टरनेट बैंकिङ प्रयोग गर्छन् । डेबिड कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ । सबैभन्दा बढी डेबिड कार्डका प्रयोगकर्ता पनि बागमती प्रदेशमा ४९ लाख ७४ हजार ३ सय ३२ छन् । यस्तै, सबैभन्दा कम सुदूरपश्चिमाञ्चल प्रदेशमा पनि २ लाख ५८ हजारले डेबिट कार्ड प्रयोग गरेका छन् ।
डिजिटल बैंकिङ प्रयोगकर्ताको संख्या कोभिडपछि बढी देखिएको हो । कोभिडका कारण भौतिकभन्दा अभौतिक कारोबार गर्नेहरु बढेकाले पनि डिजिटल बैंकिङमा फड्को मारेकोमा हरेक वर्ष प्रयोगकर्तासँगै कारोबार पनि बढ्दै गएको छ। रिटेल पेमेन्टको रूपमा प्रयोग हुने मोबाइल वालेट, मोबाइल बैंकिङसँगै कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या उल्लेख्य रूपमा बढेको हो । कोरोना भाइरसको संक्रमणपछि भएको लकडाउनमा डिजिटल बैंकिङ कारोबारमा आकर्षण बढ्दै गएको हो । बैंक तथा वित्तीय संस्थाहरूले पनि यसलाई जोड दिँदै अब नगदरहित बैंकिङ कारोबारमा केन्द्रित हुँदै आएको देखिन्छ । तर यस्तो प्रयोग शतप्रतिशत ग्राहकमा नपुगेकाले प्रविधिबारे जनचेतना अर्थात् डिजिटाइजेसनबारे वित्तीय साक्षरता जगाउन अझै जरुरी देखिन्छ । बैंकिङ प्रणालीमा हुने कारोबारलाई डिजिटाइजेसनमा थप जोड दिन नेपाल राष्ट्र बैंकले सीमा बढाउँदै आएको छ । क्यूआर कोड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेटलगायतबाट हुने डिजिटल कारोबारको सीमा बढाइएको छ । अहिले केन्द्रीय बैंकले वालेटमा कारोबार गर्ने सीमा पनि बढाएको छ । यसको प्रयोग र सुरक्षा बढाउनका लागि र प्रायः डिजिटल कारोबार बढेसँगै यसमा आउने गुनासो पनि बढेको छ । आगामी दिनमा डिजिटल भुक्तानीलाई बढाउँदै जाने क्रममा यसलाई सुरक्षित बढाउनेमा केन्द्रीय बैंक सजग हुनु पर्छ । विद्युतीय कारोबार बढेसँगै जोखिम पनि चुनौतीको रुपमा देखिन थालेको छ । कारोबारमा जोखिम सिर्जना नहोस् भन्नेमा सबै सजग हुनु पर्छ ।