

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संरक्षण विनाको वृक्षारोपण कार्यले कुनै अर्थ नराख्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसको अवसरमा नेकपा एमाले सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको बृहत वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले प्रकृति संरक्षणसँगै समृद्धिका लागि वृक्षारोपण गर्नुपर्ने औल्याएका हुन् ।

उनले पछिल्लो समय रमाईलो र रित पु¥याउनका लागि बिरुवा रोप्ने फेसनलाई बद्ल्दै रोपेका बिरुवालाई मलजल, गोडमेल गर्दै संरक्षण गर्नुपर्नेमा जोड दिए । वन जंगल जोगाएर वातावरणलाई हरियाली बनाउँदै मानव अस्तित्व बचाउनका लागि सबै तह र तप्काका पार्टीपंक्तिले वृक्षारोपण गर्नुपर्ने उनको सुझाव थियो ।

उनले विगतको जस्तो वृक्षारोपण गर्ने परिपाटीबाट माथि उठेर अरुले गर्ने र एमालेले गर्ने वृक्षारोपण कार्य परिणाममुखि हुनुपर्ने उल्लेख गरे । मुख्यमन्त्री कँडेलले देशको व्यवस्था परिवर्तन भएपनि आम नागरिकको अवस्था नबद्लिएकाले अझैपनि चुनौतिहरुसँग साम्ना गर्न स्वर्गीय पुप्पलालका मूल्य मान्यता र आर्दश प्रेरणाको स्रोत भएको बताए ।

कार्यक्रममा नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले दिगो विकास लक्ष्य प्राप्तिका लागि वातावरण संरक्षण अपरिहार्य रहेकाले गाउँ–शहर हरियाली बनाउन वृक्षारोपण कार्यमा जुट्न आग्रह गरे ।
उनले वीरेन्द्रनगर–११, अम्बिकेश्वरी मन्दिर परिसरसँगै नेकपा एमाले सुर्खेत कार्यालय परिसर वरपर रुद्राक्ष, स्वामी, गुलमोहर, कलकी, राजबृक्ष, खयर, पारिजात लगायतका एक हजार विरुवा वृक्षारोपण गरिने जानकारी दिए ।












