धुवाँमा निस्सासिएर जुम्लामा दिदीबहिनीको मृत्यु
जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा धुवाँले निस्सासिएकी दिदीबहिनीको उपचारका क्रममा मृत्यु भएको छ । सुत्केरीलाई सेक्न बालिएको आगोको धुवाँले निसास्सिएर ११ दिनकी सुत्केरी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी १९ वर्षीया बहिनी नाता पर्ने जुनमाया रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
चन्दन्दननाथ नगरपालिकाको कालेखोलीमा बस्दै आएका उनीहरु धुवाँले निसास्सिएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा सुत्केरी मायालक्ष्मी महताराको सोमबार नै मृत्यु भइसकेको थियो भने जुनमाया रोकायाको उपचारकै क्रममा मङ्गलवार बिहान मृत्यु भएको प्रहरी नायब उपरिक्षक छेदिलाल कामतीले जानकारी दिए ।
उनका अनुसार निस्सासिएर ११ दिनको बच्चा समेत बिरामी छन् । बच्चाको उपचार अस्पतालको आइसीयुमा भइरहेको डीएसपी कामतीले जानकारी दिए । तीनै जनालाई सोमबार बिहान सवा सात बजे उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिएको थियो ।
‘उनीहरु दुई तले घरमा बस्दा रहेछन् । सुत्केरी भएकाले तेलमा मेथी तताउन आगो बालेको पाइएको छ,’ उनले भने, ‘त्यही आगोमा सुत्केरी, उनकी बहिनी र बच्चा निस्सासिएका हुन् ।’ प्रहरी घटनास्थल पुग्दा सुत्केरीलाई तताउन आगो बालेको र घटनास्थलमा धुवाँको प्रभाव बाँकी नै रहेको पाइएको डीएसपी कामतीको भनाइ छ । सोमबार बिहान अबेरसम्म नउठेपछि आफन्तले ढोका फोडेका थिए । उनीहरु निस्सासिएको अवस्थामा भेटिएका थिए ।