लुम्बिनीका नवनियुक्त ८ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त  मुख्यमन्त्री चेतनारायण आर्चायले पद तथा गोपनीयताको शपथ लिएसँगै  एमाले काँग्रेसका ८ जना मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कांग्रेसका २७ र एमालेका २९ गरी ५६ सांसदको समर्थनमा गत सोमबार आर्चाय मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी एमाले संसदीय दलका उपनेता हुन् । आर्चाय अर्घाखाँचीकाको क्षेत्र नं. १ (क) बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेबाट ४  र काँग्रेसका तर्फबाट ४ जना बिना विभागीय मन्त्रीमा नियुक्त भएका छन् । जसमा एमालेका तर्फबाट रुपन्देहीका भुमिश्वर ढकाल,गुल्मीका दिनेश पन्थी,पाल्पाका खेमबहादुर सारु मगर र दाङका सीता चौधरी मन्त्री भएका छन् ।

काँग्रेसबाट गुल्मीका धनेन्द्र कार्की,प्युठानका सरोज थापा (रोज राणा),दाङका प्रचण्डबिक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्रीमा नियुक्त भएका छन् । यस्तै,काँग्रेसबाट यसअघि मन्त्री बन्ने भनिएका जन्मजय तिमल्सेनाको नाम भने अन्तिम समयमा हटाइएको छ ।

कांग्रेस संस्थापन पक्षले एकलौटी रुपमा प्रदेशसँग सल्लाह नगरी मन्त्री छानेको भनी बिवाद भएपछि तिमल्सेनाको नाम हटाइएको बताइएको छ । लुम्बिनीमा एमालेले मुख्यमन्त्री सहित ५ र काग्रेसले ५ वटा मन्त्रालय लिने सहमति भएको हो । एमालेमा मन्त्री छान्न सकस भएपछि मुख्यमन्त्री आर्चाय काठमाण्डौ आएका थिए । पार्टी मुख्यालयबाट मन्त्रीको टुङ्गो लगाएर उनी हिजो बुटवल आएको एमाले श्रोतले बताएको छ ।

त्यस्तै,काँग्रेसमा पनि मन्त्रीको नाम टुङ्गयाउन संसदिय दलका नेता डिल्ली चौधरी सहितका नेताहरु काठमाडौं पुगेका थिए । पार्टी सभापती देउवाको निर्देशन अनुसार नै मन्त्रीको नाम टुङ्गयाइएको बताइएको छ । मन्त्रीको नाम टुङ्गो लगाए पनि मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउन नसकेकाले आज सबैलाइ बिना विभागीय मन्त्रीको शपथ खुवाइएको हो ।

बिहिबारसम्म मन्त्रालय तोकिने बताइएको छ । लुम्बिनीमा साना दलहरु लोसपा,जनमत,जसपा र नाउन्मुक्तिले पनि सरकारलाइ समर्थन गर्ने जनाएका छन् । बाँकी रहेका २ मन्त्री पद तीनै पार्टीका लागि खाली राखिएको छ । मुख्यमन्त्रीको शपथमा एमाले संसदीय दलका नेता लिला गिरी अनुपस्थित भएका छन् । आफ्नै पार्टीका मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रममा एमाले संसदीय दलका नेता लिला गिरी उपस्थित नभएको जनाइएको छ ।

कांग्रेस एमाले गठबन्धन बने देखि नै लुम्बिनीको मुख्यमन्त्री एमालेको भागमा पर्ने र  एमालेका तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा पुर्व मुख्यमन्त्री गिरी मुख्य मन्त्री बन्ने चर्चा थियो । मुख्यमन्त्री नियुक्ति हुने दिन बिहानसम्म पनि गिरी नै मुख्यमन्त्री हुने खबरहरु सार्वजनिक भइसकेको थियो ।

तर मुख्यमन्त्री नियुक्ती प्रक्रियाको अन्तिम चरणमा पत्र तयार गर्दै गर्दा एमाले महासचिव शंकर पोख्रेलले फोन गरेर मुख्यमन्त्रीमा चेतनारायण आर्चाय हुने भनेपछि गिरीको नाम हटाएर आर्चायको नाम राखिएको थियो ।

त्यसलगत्तै गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फोन गर्दा अहिलेलाई यस्तै भयो भन्ने जवाफ दिएको स्वंयम गिरीले नै संचारमाध्यमहरुलाई बताएका छन् । गिरी पछिल्लो समय एमाले उपाध्यक्ष बिष्णु पौडेल निकट हुन् भने आर्चाय पार्टी महासचिव तथा पूर्वमुख्यमन्त्री शंकर पोख्रेल निकट हुन् ।

Translate »