मौसम खराबीका कारण डोल्पाबाट सुर्खेतका लागि उडेको नेपाली सेनाको हेलिकप्टर लेकबेसीमा आकस्मिक अवतरण

सुर्खेत । मौसम खराबीका कारण डोल्पाबाट सुर्खेतका लागि उडेको नेपाली सेनाको हेलिकप्टर लेकबेसीको पुरानो घाटमा आकस्मिक अवतरण गरेको छ ।
डोल्पाबाट विरामी उद्दार गरेर सुर्खेत विमानस्थल ल्याउँदै गर्दा वीचममै मौसम प्रतिकुल बनेपछि पूर्वी सुर्खेतको लेकबेसी नगरपालिका–६, पुरानो घाटको खेतमा सेनाको हेलिकप्टरले आकस्मिक अवतरण गर्नु परेको हो ।
एनए–जीरो सिक्स सिक्छ (NA-066) नम्वरको सेनाको हेलिकप्टरले डोल्पाबाट लेक लागेर विरामी भएका सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक नरबहादुर विसीलाई उद्दार गरेर सुर्खेत विमानस्थलमा ल्याउँदै गर्दा मौसम प्रतिकुल बनेपछि लेखबेसीको खेतमा फोर्स ल्याण्डिङ्ग गर्नु परेको लेकबेसी ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायव निरीक्षक वीरबहादुर बोहराले जानकारी दिए ।

उनले मौसममा सुधार आउने वित्तिकै सेनाको हेलिकप्टर गन्तव्यतर्फ प्रस्थान गर्ने तयारी गरेको बताए । यता सुर्खेत विमानस्थल कार्यालयका सूचना अधिकारी उपेन्द्रप्रसाद आचार्यले मौसम प्रतिकुलताका कारणले आकस्मिक अवतरण गरेपनि केही देरमै सुर्खेत विमानस्थलमा आउने तयारी गरेको जनाए ।
यसैवीच सैनिक हेलिकोप्टरलाई साढे १२ बजेतिर खेतमा सुरक्षित अवतरण गराइएको हो । मौसममा केही सुधार भएपछि हेलिकोप्टरलाई सुर्खेत विमानस्थल ल्याइएको सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले बताए ।
बिरामी असई विसीलाई उपचारका लागि एम्बुलेन्स मार्फत प्रदेश अस्पताल, कालागाउँ लगिएको छ । उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सुर्खेतमा बुधबार बिहानैबाट ठूलो वर्षा भइरहेको छ । यसले नियमित हवाई उडान समेत प्रभावित बनेको हो ।