मेलामा पुगेका कृषिमन्त्री जब ठेकीमा मोही बनाउन थाले…

काठमाडौं । दरबारमार्गको ओरिएन्ट क्याफेमा प्रत्येक शनिवार चल्ने रैथाने कृषि सामग्रीसम्बन्धी मेलामा आज (शनिवार) भने फरक दृश्य देखियो ।

अरु दिन आमसर्वसाधारण पुग्ने उक्त मेलामा आज कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी पुगेका थिए । कोट-पाइन्टमा सजिएर आएका उनी मेला स्थलमा पुगेको केही समयपछि थचक्क भुइँमा बसे । र, ठेकीमा मदानी तान्दै मोही बनाउन थाले । उक्त दृश्य देखेर दंग थिए मेलाका सहभागीहरू । तीमध्ये केही उनीतिर मोबाइल तेर्स्याएर भिडियो खिच्न थाले । केहीले भने उनलाई एकतमासले हेरिरहे ।

उनले मेलामा पुगेर मोही बनाउनुको कारण थियो– मोही अभियानमा साथ दिनु । नेपाल डेरी एशोसियशनले मोहीको विक्री वितरण बढाउन मोही अभियान चलाएको छ ।


यही अभियानलाई साथ दिन मेलामा पनि मोही विक्री गर्ने गरिएको छ । मेला स्थलमा ग्राहकलाई उतिबेलै ठेकीमा मोही बनाएर दिने गरिएको छ । उक्त मेला प्रत्येक शनिवार बिहान ७ बजेदेखि १० बजेसम्म चल्ने गरेको छ ।

एशोसियशनका अध्यक्ष प्रह्लाद दाहालले कृषिमन्त्रीको उक्त कदमले मोही अभियानलाई साथ दिएको प्रतिक्रिया दिए ।

एशोसियशनका महासचिव हेमचन्द्र खानालले मोही अभियान सञ्चालनपछि धेरै डेरी उद्योगहरूले ब्रान्डिङ गरेर मोही विक्री वितरण गरिरहेको जानकारी दिए । एशोसियशनका सचिव शिवहरि आचार्यले ‘दर्पण’ ब्रान्डमा आफ्नो उत्पादनसमेत शुरु गरेका छन् ।

आजभोलि विवाह, पार्टी, भोजभतेरमा समेत मोहीको प्रयोग बढ्दो छ । आर्थिक अभियान

Translate »