बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडिन्

काठमाडौं । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएकी छन् । आरक्षणविरुद्धको आन्दोलनले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएको बीबीसीले जनाएको छ ।

राजीनामा दिएपछि प्रधानमन्त्री हसिनाले देश पनि छोडेको बीबीसी समाचारमा उल्लेख छ । प्रधानमन्त्री हसिना बहिनीसँगै देश छाडेकी हुन् । प्रधानमन्त्री हसिना चढेको हेलिकोप्टर भारतर्फ लागेको बताइएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री हसिना भारतको अगरतालातर्फ गएकी हुन् । अगरताला भारतको त्रिपुरा राज्यको राजधानी हो ।


प्रदर्शनकारीहरू सोमबार प्रधानमन्त्री निवासमै छिरेका छन् । निवासमै छिरेपछि असुरक्षित महसुस गरेकी हसिनाले बहिनीसँगै देश छाडेको स्रोतलाई उद्र्धत गर्दै एजेन्सीहरूले उल्लेख गरेका छन् । यसैबीच बंगलादेशका सेना प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ । देशको अवस्थाबारे जानकारी दिन उनले देशबासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।

जुलाई पहिलो सातादेखि बंगलादेशमा आरक्षणविरोधी आन्दोलन सुरू भएको थियो । उक्त आन्दोलन अहिले सरकारविरुद्ध मोडिएको छ । आन्दोलनकारीको माग केही सम्बोधन गरिए पनि पछिल्लो समय प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै आन्दोलन उग्र बनेको हो । बंगलादेशमा जारी आन्दोलनमा हालसम्म तीन सयको मृत्यु भएको छ । सन् २००९ देखि शेख हसिना बंगलादेशको निरन्तर प्रधानमन्त्री बन्दै आएकी छन् ।

Translate »