एमाले ४ मन्त्रालयसहित सरकारमा, मनाङ्गेलाई बन मन्त्रालयको जिम्मेवारी, देवकोटा उर्जा मन्त्री यथावत्
पोखरा । संघमा नेकपा एमाले–कांग्रेसको संयुक्त सरकार बनेको करिब दुई महिनापछि गण्डकी सरकारमा एमाले सामेल भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेबाट मन्त्रीहरु थप गरी सोमबार मन्त्रिपरिषद्को जिम्मेवारीमा समेत हेरफेर गरेका छन् ।
एमालेबाट मन्त्री बनेकी नवलपुरकी संसाद पद्मा जिसीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएकी छिन् । बागलुङका संसाद कृष्णप्रसाद पाठकले स्वास्थ्य मन्त्रालय पाएका छन् ।
समानुपातिकबाट सांसद बनेका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था पाएका छन् । पर्वतबाट निर्वाचित सांसद मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
यसअघि भौतिक पूर्वाधार मन्त्री रहेका राजीव गुरुङ (दीपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । स्वतन्त्र सांसद गुरुङको मन्त्रालय हेरफेर गरेका मुख्यमन्त्री पाण्डेले नेपाली समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटालाई भने पुरानै मन्त्रालय ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
आइतबार मात्रै मुख्यमन्त्री पाण्डेले मन्त्रालयको संख्या सातबाट बढाएर नौ बनाएका थिए । सोमबारको मन्त्रिमण्डल विस्तारपछि गण्डकी सरकारले पूर्णता पाएको छ । नवनियुक्त मन्त्रीहरुको आजै सपथ ग्रहण भएको छ ।
नेकपा एमालेका तर्फबाट नियुक्त ४ मन्त्रीहरुलाई एक समारोहबिच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सपथ ग्रहण गराएका हुन् । यसअघि केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएको दुई महिना बित्दासम्म पनि एमाले र काँग्रेसको मन्त्रालय बाँडफाँडमा कुरा मिल्न नसक्दा नयाँ सत्ता गठबन्धनको सरकार गठनमा ढिलाइ भएको थियो ।