भारतीय उद्योगपति रतन टाटाको निधन

नयाँदिल्ली ।  प्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ ।

मुम्बइको ब्रीच क्याण्डी अस्पतालमा उपचाररत टाटाको बुधबार राति निधन भएको टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उनको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।

टाटाको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेताहरूसहित भारतका दिग्गज व्यक्तित्वहरूले दुख व्यक्त गरेका छन् ।

भारतीय उद्योग जगत्‌लाई विश्व मञ्चमा स्थापित गराएका टाटालाई भारत सरकारले पद्मविभूषणबाट सम्मानित गरेको थियो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले उनलाई श्रद्धाञ्जली अर्पण गर्दै उनी भारतीय उद्योगका ‘टाइटन’ हुनुहुन्थ्यो भनेका छन् ।

उद्योगपति टाटाको मृत्युको पुष्टि गर्दै रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,’ ‘रतन टाटाको निधनले दुःखी छु। उनी भारतीय उद्योगका ‘टाइटन’ हुनुहुन्थ्यो। हाम्रो अर्थव्यवस्था, व्यापार र उद्योगमा उहाँको महत्वपूर्ण योगदान थियो ।’

रक्षामन्त्री सिंहले लेखेका छन्,’ ‘उनको परिवार, साथीभाइ र प्रशंसकहरुप्रति मेरो गहिरो समवेदना छ । उहाँको आत्माले शान्ति पाओस् ।’

Translate »