पर्यटन व्यवसायी वसन्त मिश्रको निधन


काठमाडौं । नेपालका पहिलो पर्यटन विज्ञ तथा पर्यटन व्यवसायी वसन्तराज मिश्रको ७० वर्षको उमेरमा निधन भएको छ । ब्रेन ह्यामरेज रोगबाट ग्रसित रहेका मिश्रलाई पछिल्लो समय डेंगी समेत देखिएको थियो ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन पाटा अभियानमा सक्रिय रहेका मिश्र लामो समयदेखि पाटा अध्यक्षसँगै पाटा मुख्यालयमा महासचिवको भूमिका निर्वाह गरेका थिए । उनका एक पत्नी र दुई छोरा छन्। उनी मिश्र टेम्पल टाइगर एण्ड कम्पनीका संस्थापक हुन् ।

७० वर्षीय मिश्रको निधनले नेपालको पर्यटन क्षेत्रमा ठूलो क्षति भएको छ । नेपालमा बन्यजन्तु पर्यटनलाई लोकप्रिय बनाउने पहिलो पुस्ताको पर्यटन व्यवसायीको श्रेय उनलाई जान्छ ।
उनी नेपालको पहिलो पुस्ताको पर्यटन विज्ञ भएको एक्सप्लोर हिमालय ट्राभल एण्ड एडभेन्चरका सञ्चालक तथा पाटाका उपाध्यक्ष सुमन पाण्डेले आर्थिक अभियानसंग बताए । ‘उहाँ नेपालकै पहिलो पर्यटन विज्ञ हो, उहाँ भन्दा अगाडि नेपालको पर्यटक विज्ञ मूलत विदेशी हुन्थे, उहाँको निधनले हामी सहित पर्यटन व्यवसायलाई नै ठूलो क्षति भएको छ,’ उनले भने ।

