पूर्वी सुर्खेतमा नयाँ शहरको भवन शिलान्यास

सुर्खेत ।  पूर्व उपप्राधान मन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दलहरुबीच चुनावमा प्रतिस्पर्धा भएपनि विकास र जनताको समृद्धिका लागि प्रतिस्पर्धा नरहेको बताएका छन् ।

आज पूर्वी सुर्खेतको भेरीगंगा नयाँ सहर आयोजनाको कार्यालय भवनको शिलान्यास गर्दै उपसभापति खड्काले विकास र समृद्धिका विषयमा प्रतिस्पर्धा गर्नु आवश्यक नभएको बताएका हुन् । खड्काले स्रोतको सुनश्चितता नहुनु, राजस्व नउठ्नु जस्ता समस्याले देशमा विकासको लहर ल्याउने जनप्रतिनिधिको सपना पूरा हुन नसकेको जनाए ।

निर्माणमा हुने ढिलाईले पुँजीगत खर्च कम हुँदा विभिन्न कारणले मुलुकको अर्थतन्त्रमा समस्या आएको भन्दै उनले भेरी किनारमा बन्ने देशकै ठूलो शहर ‘भेरीगंगा आधुनिक सहर’ ले पूर्ण रुपमा आकार लिन केही वर्ष लाग्ने बताए । उनले नयाँ शहरको डीपीआरसँगै कामले तीब्रता पाएपछि देशका ५० भन्दा बढी सहरमध्ये भेरीगंगा आधुनिक सहर सबैभन्दा ठूलो भूगोलमा भएकाले यसको विकासका लागि सबै पक्षको सहयोग तथा समन्वय आवश्यक रहेको औल्याए ।

नयाँ सहरभित्र सडक र अन्य पूर्वाधार कस्ता हुने भन्ने विषयमा प्रारम्भिक डिपीआर तयार भएकाले सोहीअनुसार अघि बढ्न स्थानीय तहका प्रमुखलाई आग्रह गर्दै उपसभापति खड्काले सहरको गुरुयोजना बनाउने प्रक्रिया सुरु भएकाले अब बजेट जोहो गरेर काम सुरु हुने आश्वासन दिए ।

Translate »