‘क्लिक खेती’ले हैरान पत्रकार

काठमाडौं ।  बेलायती दुई अखबार ‘द मिरर’ र ‘एक्सप्रेस’का सञ्चालक न्युज रुममा छिरेर गत महिना एउटा घोषणा गरे, ‘अब यो न्युज रुममा काम गर्ने हरेक पत्रकारले दिनको आठवटा समाचार लेख्नुपर्नेछ । नत्र अन्यत्र काम खोज्नुहोला।’ त्यसयता दैनिक आठवटा समाचार लेख्ने चटारोले यी पत्रिकाका पत्रकारलाई कराप्पै पारयो  । ‘रिच’ म्यागेजिन छोडेर यहाँ काम गर्न आएका एक पत्रकारले भने, ‘दैनिक आठवटा समाचारको तोड यस्तो छ कि कहिलेकाहीं त खाजा खाने फुर्सद पनि हुँदैन  । त्यो त बरु पछि खाउँला तर समाचार हालेर पनि राम्रो भ्युज (क्लिक) पाएन भने अर्को तनाव हुन्छ ।’

अर्का एक पत्रकारले अनौपचारिक भेटमा भने, ‘जसले क्लिक खेतीमा काम गरिरहेको छ, उसका लागि त यो राम्रै कुरा होला तर जो वास्तविक पत्रकार छ,जसलाई क्लिक खेतीसँग मतलब हुँदैन र खोजमा रमाउँछ तर यो पछिल्लो क्रियाकलापले उसलाई डाइनोसर बनाउने पक्का छ  ।

’ क्लिक खेती भनेको जुन समाचार बढी क्लिक हुन्छ, मान्छेले शीर्षक देख्नेबित्तिकै अनलाइनमा क्लिक गर्छन्, त्यस्ता समाचार उत्पादकलाई क्लिक किसान र क्लिक खेती भनिन्छ  । क्लिक खेतीमा लागेका पत्रकारको समस्या के छ भने हतारमा समाचार लेख्नुपर्ने भएकाले उनीहरूका समाचारमा पर्याप्त गल्ती हुन्छन्  ।

असमाचारलाई पनि समाचार बनाउनुपर्ने हुन्छ कहिलेकाहीं  । तिनलाई भेरिफाई गर्ने समय निकै कम हुने हुनाले सही सूचना जाने भन्दा पनि गलत सूचनाको भारी बोक्ने पत्रकार बन्न पुग्छन् ।

काम गतिलोभन्दा पनि बढी कसले क्लिक गरयो भन्नेमा चासो हुने हुँदा पत्रकारलाई थप दबाब पर्ने गरेको छ । डिजिटल संसारमा पछिल्लो समय ‘गलाकाट’ प्रतिस्पर्धा चलिरहेको छ । यहाँ नयाँनयाँ खेलाडी जन्मिरहेका छन्  ।

यस्तोमा द मिरर र एक्सप्रेसजस्ता पुराना अखबार पनि यो दौडमा सामेल हुनुपर्ने बाध्यता बढेको छ ।

एउटा पत्रकारले दिनमा कतिवटा समाचार उत्पादन गर्ने भन्ने प्रश्न एउटा छ तर जति समाचार उत्पादन गरे पनि नपुग्ने डिजिटल संसारमा यो पत्रकारका लागि थप बोझ बन्न पुगेको छ । अचेल अखबारहरूले त्यस्ता समाचार बनाउने गरेका छन्, जुन गुगलमा मान्छेले विभिन्न विषयबारे खोजिरहेका हुन्छन्  ।

यसका लागि अखबारहरूले गुगल डिस्कभर प्रयोग गरेका छन् । यति मात्र होइन, हुँदाहुँदा रिपोर्टरले भ्याएनन् भने स्वयं सम्पादकहरू पनि समाचार लेख्न थालेका छन्  । यसका लागि सहज बनाइदिन कम्पनीले एआई सफ्टवेयरहरूको समेत उपयोग गर्न थालेका छन् ।

डेली मिररका कार्यकारी अधिकृतले त पत्रकारहरूलाई पठाएको सूचनामा के समेत भन्न भ्याएका छन् भने,‘तपाईंहरूको समाचारले कम्तीमा पनि १२ हजार पाँच सय भ्युज दुई दिन भित्रमा पाइसक्नुपर्छ ।

त्योभन्दा कम भ्युज पाएको समाचारलाई समाचारै मानिने छैन ।’ अब केलाई गज्जबको समाचार मान्ने भन्ने मापक पेज भ्युज हुन थालेपछि द मिररमा लेखिने राजनीति, व्यापार र सामान्य समाचार समाचार नै नहुने भएका छन् ।

त्यस्तै सेलिब्रिटी र दरबारका समाचारहरूको भ्युज लाखौंमा आउने भएकाले ती मात्र समाचार मान्न थालिएको छ  ।

मिररमा गायक जस्टिन बिबर, हेयर स्टाइल, म्यानचेस्टर युनाइटेड शब्द मात्र छिराएका खण्डमा राम्रो पाठक दोहोरिने गरेका छन् ।

समाचारमा भन्दा लुगा कपडाबारे लेखिएका टिप्पणीको बढी पाठक रहेको पछिल्लो समय देखिएको मिररका एक पत्रकारले जनाए । पर्याप्त सबुतबिनै समाचार लेख्ने रोग मिररबाहेक यसका अन्य शाखामा पनि सरेको छ ।

म्यानचेस्टर इभिनिङ न्युज, लिभरपुल इको र ओके म्यागेजिनमा पनि फेसबुकका हल्लालाई समाचार बनाउने क्रम तीव्र रूपमा बढेर जान थालेको छ । पछिल्लो समय सामाजिक सञ्जालहरूले समाचारको लिंकलाई निरुत्साहित गर्ने नीति लिन थालेपछि यस्ता संस्थालाई गाह्रो पारिरहेको छ । त्यस्तै गुगलले पनि समयसमयमा आफ्नो नीति परिवर्तन गरिरहेको छ, जसले गुणस्तरहीन समाचार र स्पाम समाचारलाई निरुत्साहित गरिरहेको छ । जसकारण तयारी मालजस्तै तयारी समाचारहरू पस्कने अनलाइनको आम्दानी पहिलेको तुलनामा निकै घट्न थालेको छ । त्यसैले मिररको माउ संस्था रिच मिडियाले आफ्ना सबै प्रकाशनहरूको क्लिक बढाउन समाचार बढाउने निर्णय गरेको थियो ।

यसो गर्दा कम्पनीले बढी रजिस्ट्रेसन पाउने र त्यसमार्फत ई–कमर्समार्फत आफ्नो व्यापार बढाउने काम गरिरहेको छ ।

गत वर्ष मात्र द इन्डिपेन्डेन्ट पत्रिकाले आफ्नो राम्रो व्यापार बढाएको थियो । उसले त्यही समय बन्द भएका बजफिड र हफिंगटन पोस्टले बेलायत छाडेको मौकामा आफ्ना कन्टेन्ट बढाएको थियो । त्यस्तै भाइस मिडियाले पनि आफ्ना सयौं कामदारहरूलाई बिदा दिएको थियो ।

रिच मिडियाका प्रमुख कार्यकारी जिम मुलेनले अर्को एउटा काम गरेका थिए । उनले मिररलाई अमेरिकासम्म फैलाएका थिए । त्यही खाली ठाउँ भर्न पत्रकारहरूलाई कम्तीमा आठवटा समाचारको जिम्मेवारी दिइएको थियो ।

कुनै समय एउटा समाचारले अनलाइनलाई ५० सेन्टसम्म कमाएर दिने गथ्र्यो ।अचेल भने त्यो आम्दानी घटेर ५ सेन्टमा झरेको छ  । त्यसको घाटापूर्ति गर्नका लागि भए पनि अनलाइनहरूले बढीभन्दा बढी, क्लिकयोग्य र धेरै पाठक तानिने समाचार बनाउने बाध्यता बढेर गएको छ । मिररको प्रतिस्पर्धी संस्था मेल अनलाइन र द सनको मुख्य आम्दानी अचेल अनलाइन नै हुने गरेको छ । उनीहरूले पनि आफ्नो देशमा कामदार कटौती गर्दै अमेरिकामा शाखा खोल्न थालेका छन्।त्यसको आधार ‘क्लिक बेट’ नै हुने गरेको छ ।

रिच मिडियाको यो प्रयासले पछिल्ला केही समयमा २दशमलव५ प्रतिशतले व्यापार बढेको देखाएको छ । त्यसो त गत पाँच वर्षमा रिच मिडियाले आम्दानी गुमाउँदै जान थालेको छ ।

सन् २०१८ मा लन्डन स्टक एक्सचेन्जमा यसको सेयर मूल्य ७२३ मिलियन पाउन्ड थियो भने अहिले जम्मा ३०० मिलियन पाउन्डमा झरेको छ ।सन् २००५ मा भने यसको मार्केट क्यापिटलाइजेसन दुई अर्ब पाउन्ड रहेको थियो ।

कम्पनीको बजार मूल्य घट्दै जाँदा कम्पनीका कार्यकारी प्रमुख जिम मुलेनले गत वर्ष मात्र आठ सय कर्मचारी कटौती गरेका थिए । मिरर पत्रिकाका अति सम्मानित सम्पादक एलिसन फिलिप्सले त्यत्रा कामदार कटौतीको विरोधमा राजीनामा दिएका थिए । नागरिक न्यूज

Translate »