टिकटकका संस्थापक बने चीनका सबैभन्दा धनी व्यक्ति, सम्पत्ति ४९ अर्ब ३० करोड अमेरिकी डलर

काठमाडौं । टिकटकको बढ्दो लोकप्रियताले यसको माउ कम्पनी बाइटडान्सका सह-संस्थापक झाङ यिमिङ चीनको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन्। हुरुन रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको धनाढ्यको सूचीअनुसार, झाङ यिमिङको सम्पत्ति अहिले ४९ अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ, जुन सन् २०२३ को तुलनामा ४३ प्रतिशतले वृद्धि भएको हो।

सन् २०२१ मा ४१ वर्षीय झाङले कम्पनीको जिम्मेवारीबाट राजीनामा दिएका थिए, तर उनले करिब २० प्रतिशत कम्पनीको हिस्सा अझै राखेका छन्। चिनियाँ राज्यसँग बाइटडान्सको सम्बन्धलाई लिएर केही देशहरूले चिन्ता व्यक्त गरे तापनि टिकटक विश्वको सबैभन्दा लोकप्रिय सामाजिक मिडिया एपमध्ये एक बनेको छ।

बाइटडान्सले आफूहरू चीन सरकारबाट स्वतन्त्र रहेको बताइरहे पनि, आफ्नो हिस्सेदारी बिक्री नगरेमा अमेरिकाले सन् २०२५ जनवरीदेखि टिकटकमाथि प्रतिबन्ध लगाउने योजना बनाएको समाचारहरू आइरहेका छन्।

अमेरिकामा बढ्दो दबाबको सामना गर्नु परे तापनि, बाइटडान्सको नाफा गत वर्ष ६० प्रतिशतले बढेको थियो, जसले झाङ यिमिङको व्यक्तिगत सम्पत्ति पनि वृद्धि गरेको छ। झाङ यो सूचीमा अटाउने चिनियाँ प्रविधि क्षेत्रका एक मात्र व्यक्ति भने होइनन्। टेनसेन्टका प्रमुख पोनी मा ४४ अर्ब ४० करोड पाउन्ड बराबरको व्यक्तिगत सम्पत्तिसहित सूचीको तेस्रो स्थानमा छन्।

रिपोर्ट अनुसार, पछिल्ला वर्षहरूमा चिनियाँ अर्बपतिहरूको आम्दानी घटिरहेको छ, जसका कारण हुरुन रिसर्च इन्स्टिच्युटको चाइना रिच लिस्ट लगातार तेस्रो वर्ष पनि खुम्चिएको छ। सूचीमा रहेका व्यक्तिहरूको संख्या गत वर्षको तुलनामा १२ प्रतिशतले घटेर ११०० भन्दा कम भएको छ। यसको मूल कारण चीनको अर्थव्यवस्था र शेयर बजारले कठिन अवस्था झेलिरहनु भएको रिपोर्टमा भनिएको छ।

शाओमी जस्ता स्मार्टफोन निर्माताहरूले राम्रो वर्ष बिताएको तथा हरित ऊर्जा बजारमा गिरावट आएको तथ्याङ्कले देखाएको छ। सोलार प्यानल, लिथियम ब्याट्री, र ईभी निर्माताहरूलाई चुनौती बढेको रिपोर्टमा उल्लेख छ। प्रतिस्पर्धा तीव्र हुँदा उत्पादन बढेको छ, तर ट्यारिफको खतराले थप अनिश्चितता ल्याएको छ।सोलार प्यानल निर्माताहरूको सम्पत्ति २०२१ को तुलनामा ८०% घटेको छ, भने ब्याट्री र ईभी निर्माताहरूको सम्पत्ति क्रमशः आधा र एक चौथाइले घटेको बताइएको छ। एजेन्सी

Translate »