सैन्य आधार तालिमबाट ९७ जना दीक्षित

सुर्खेत । सुर्खेत स्थित उत्तरपश्चिम पृतना मुख्यालयमा सञ्चालन भएको सि.स.३ सैन्य आधार तालिमबाट ९७ जना दिक्षित भएका छन् ।

आज काली बहादुर गण कपासे व्यारेक वीरेन्द्रनगरमा भएको अन्तिम दलेल कवाज प्रदर्शन (दीक्षान्त समारोह) का साथ तालिममा सहभागी सैनिकलाई सिपाही दर्जामा नियुक्त गरिएको हो । नवनियुक्त सैनिकलाई देशका विभिन्न नेपाली सेनाका युनिटहरुमा पदस्थापन गरिएको उत्तर पश्चिम पृतना मुख्यालय सुर्खेतले जनाएको छ ।

पृतना हेडक्वाटरका पृतनापति उपरथी अनुपजंग थापाले तालिमसम्पन्न गरी सिपाही दर्जामा नियुक्त हुने सैन्यहरुलाई बधाई तथा शुभकामना दिनुका साथै तालिम टोलीद्वारा प्रदर्शन गरिएको कवाजको निरीक्षण गरेका थिए । उनले तालिम पश्चात् राष्ट्र, जनता र संस्थाप्रति समर्पित भएर लाग्न निर्देशन दिर्दै नेपाली सेनाको मूल्य मान्यता र परम्परालाई पालन गर्दै जस्तोसुकै परिस्थितिमा पनि राष्ट्र, नेपाली जनता र नेपाली सेनाप्रतिको जिम्मेवारी पुरा गर्न निर्देशन दिए ।

नेपाली सेनाको छवि उच्च राख्न सैनिक मर्यादामारहि काम गर्न निर्देशन दिर्दैै सिपाही बलियो भए मात्रै सेना बलियो हुने र सेना बलियो भयो भने मात्रै देश बलियो हुने उनको भनाइ थियो । भविष्यमा आइपर्ने कुनैपनि चुनौतीलाई जित्न शारीरिक, मानसिक र नैतिक साहस तालिमको दौरान प्रदान गरिएको उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा सी.स.३ सैन्य आधार तालिममा सर्वोत्कृष्ट हुन सफल कैलालीकी मोनिका चौधरीले सैद्धान्तिक तथा व्यवहारिकतर्फ उत्कृष्ट अङ्क हासिल गरी ९७ जना सैन्यहरुमा प्रथम हुन सफल भएकी थिइन् । उनलाई पृतनापति उपरथी थापाले पुरस्कृत गरेका हुन् ।

सैन्य आधार तालिम २०८० पुस १७ गतेदेखि २०८१ कार्तिक १४ गते सञ्चालन भएको मुख्य प्रशिक्षक मेजर रेनु शाहले जानकारी दिईन् । उनका अनुसार तालिमबाट दिक्षित सबै महिला मात्र हुन् ।

दीक्षान्त समारोहमा नेपाली सेनाका पदाधिकारी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, पत्रकार एवं दीक्षित भएका सिपाहीहरुका परिवार तथा आफन्तहरुको सहभागिता रहेको थियो ।

Translate »