सुर्खेत र बाँकेमा डेङ्गु सङ्क्रमणको उच्च जोखिम

सुर्खेत । सुर्खेत र बाँकेमा डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान शुरूआत गरिएको हो ।

बाँके जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

ुनेपालगन्ज डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा रहेकाले रोकथामका लागि अभियान शुरू गरेका छौं,’ उनले भने, ‘उपमहानगरका सबै वडामा लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने कार्य भइरहेको छ ।’

नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क क्षेत्रबाट डेङ्गु तथा कीटजन्य रोग सार्ने लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको शुरूआत गरेको उनको भनाइ छ । उपमहानगरका २३ वटै वडामा अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत लामखुट्टेको बासस्थान हुने पानी जमेको टायर, खाल्डाखुल्डी सरसफाइ गरी लार्भाको नष्ट गर्ने कार्य गरिने चन्दले बताए ।

यता सुर्खेतमा भने डेङ्गु रोग सङ्क्रमण नियन्त्रणका लागि खासै पहल गरिएको छैन् । स्थानीय पालिका र प्रदेश सरकारवीच आपसी तालमेल नहुँदा डेङ्गु रोग सङ्क्रमण नियन्त्रण अभियान नै सञ्चालन हुन नसकेको हो । कर्णालीमा डेङ्गु रोग सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउन सकिएको छैन् ।

समुदायमा सचेतना फैलाउने काम पनि औपचारिकता निभाउने बाहेक अरु कुनै प्रभावकारी भएका छैनन् । अहिले डेङ्गु रोग सङ्क्रमण तीव्र रुपमा भईरहेको छ । डेङ्गु रोगका विरामी अहिले घर–घरमा छन् ।

Translate »