

काठमाडौं । प्रहरीले मानव तस्करीमा मुछिएका कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला वल्लभ अधिकारीलाई पक्राउ गरेको छ ।
उनलाई विराटनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आजै काठमाडौं ल्याउने तयारी छ । अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो । उक्त आरोप लगत्तै उहाँले मन्त्री पदबाट राजीनामा समेत दिइसकेका छन् ।
तत्कालीन मन्त्री अधिकारीको नेतृत्वमा चार जना युवा आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि आयोजना गरेको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन भनेर जापान गएका थिए ।

अधिकारीसँग रहेका तीन युवालाई जापानबाट भगाउने गिरोहको योजना रहेको थियो । तर टोकियोको विमानस्थलस्थित अध्यागमनले प्रवेश नदिएपछि चारै जना अध्यागमनबाटै फिर्ता भएका थिए । उनीहरूमध्ये तीन जनालाई मात्र विमानस्थल अध्यागमनले अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।
जापानबाट फिर्ता गरिएका युवाले प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँसम्म बुझाएको बयान दिएका छन् । उनीहरूमाथि पछिल्लो समय जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । अधिकारीलाई शनिवार बसेको एमालेको कोसी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा पार्टीको सङ्गठित सदस्यबाट निलम्बन गरेको थियो ।
शनिवारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो ।











