१६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरूलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन् ।

मङ्गलवार मन्त्रीस्तरीय निर्णय भए पछि यही माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ । १५ दिन सञ्चालन हुने अभियानअन्तर्गत देशैभरका किशोरीहरूलाई खोप दिइनेछ ।

यस निर्णयबाट देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । किशोरीहरूलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन यस्तो निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिए । ‘हामीले धेरै महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएको देखेका छौं,’ मन्त्री पौडेलले भने, ‘किशोरावस्थामै खोप दिन सकिए धेरै ज्यान जोगाउन सकिन्छ भनेर अभियानकै रुपमा खोप थाल्ने निर्णय गरेका हौं ।’

मन्त्री पौडेलले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप समावेश गराउने निर्णय गरेका थिए । जसअनुसार यसै वर्ष नियमित खोपमा समावेश हुन चाहने कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकालेसमेत यो खोप लगाउन पाउनेछन् । आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको प्रवक्ता डाक्टर बुढाथोकीले जानकारी दिए ।

मन्त्री पौडेलले आफ्नो योजना तथा प्राथमिकतामा किशोरीहरूको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने उल्लेख गरेका थिए । साथै, मन्त्रीका रुपमा उनले गरेको पहिलो निर्णय राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीतिले पनि सानै उमेरदेखि नै क्यान्सरबाट जोगाउन खोप दिने विषय समेटेको छ ।

मन्त्री पौडेलले विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा जर्मनीमानसमेत विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकलगायत अधिकारीहरूसँग नेपालले सञ्चालन गर्न लागेको खोप अभियानबारे जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह समेत गरेका छन् । भ्याक्सिनसम्बन्धी विश्व सञ्जाल गाभीलेसमेत मन्त्रालयलाई साथ दिने निर्णय गरिसकेको छ ।

Translate »