प्रदेश अस्पताल सुर्खेतको निर्देशकमा डा. केशर ढकाल नियुक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेश अस्पताल सुर्खेतको निर्देशकमा डा. केशर ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले ढकाललाई अस्पतालको निर्देशकमा नियुक्त गरेको हो । डा. ढकाल अस्पतालमै कन्सलटेन्ट अब्स्ट्रेटिसियन–गाइनोकोलोजी प्रमुखका रुपमा कार्यरत ११ औं तहका डाक्टर हुन् । उनलाई त्यागी डाक्टरका रुपमा सर्वसाधारणले चिन्ने गरेका छन् । आफुले पाएको अवसरलाई बलिदान दिएर जुनियरलाई खुशी बनाउँदै आएका कर्णाली प्रदेशकै सिनियर डाक्टर ढकालका साथ यस पटक प्रदेश सरकारले समेत न्याय गरेको सर्वसाधारणको भनाई छ ।

यसअघि अस्पतालको निर्देशकका लागि सामाजिक विकास मन्त्रालयले अस्पतालमै कार्यरत निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमुख गणेश थापा र डा. ढकालको गरी दुई जनाको नाम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो । थापा सङ्घबाट कामकाजमा खटिएका डाक्टर हुन् भने ढकाल प्रदेशमै समायोजन भएका डाक्टर हुन् ।

यस्तै प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेश सचिव पुष्पराज शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयमा, इन्द्रदेव भट्टलाई जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा र ईश्वरचन्द्र मरठालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा खटाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले शहीद स्मृति भत्ता वितरण कार्यविधि २०८१, विपद् सहासिक पुरस्कार वितरण कार्यविधि २०८१, घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई जीवन निर्वाह भत्ता वितरण कार्यविधि २०८१ र सशस्त्र आन्दोलन, जनआन्दोलन र प्रदेश स्थापनाका लागि भएका आन्दोलनमा घाइते भएका व्यक्तिहरूलाई सम्बोधन गर्ने कार्यविधि २०८१ पनि स्वीकृत गरेको हो ।

Translate »