कर्णाली प्रदेश विपदको उच्च जोखिममा

सुर्खेत । मुलुकका साता प्रदेशमध्ये कर्णाली प्रदेश प्राकृतिक विपद्का हिसाबले उच्च जोखिममा रहेको पाइएको छ ।

नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको सरोकारवालाहरुसँगको दुई दिने प्रदेश स्तरीय समन्वयात्मक गोष्ठीमा रेडक्रसका कर्णाली कार्यालय प्रमुख राजकुमार क्षेत्रीले भूकम्पसहित अन्य प्राकृतिक विपद्मा कर्णाली उच्च जोखिम रहेको बताए ।

‘वैज्ञानिक खोज एवं भविष्यवाणीअनुसार कर्णाली प्रदेश भूकम्पको उच्च जोखिम छ्,’ उनले भने, ‘त्यसैले भूकम्पबाट ठूलो धनजनको क्षति नहोस् भनेरै जनचेतनामूलक कार्यक्रम स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले गर्नु जरुरी छ ।’ उनले कर्णालीमा भएका गतिविधि तथा सेवाहरुको जानकारीसँगै सरोकारवालाहरुसँग गर्न पर्ने सहकार्य तथा समन्वयका लागि दुई दिने गोष्ठीको आयोजना गरिएको बताए ।

‘कर्णाली भूकम्पको उच्च जोखिममा रहेपनि सबै जिल्लाहरुमा वायरहाउसको निर्माण हुन नसकेकाले अब स्थानीय पालिका स्तरमै विपद् प्रतिकार्य योजनाहरु प्रभावकारी बनाउन आवश्यक छ,’ उनले भने, ‘कर्णालीमा पछिल्लो समय बसाई सराईसँगै आत्महत्याका घटनाहरु समेत बढ्न थालेको छ । प्रदेशका सबै जिल्लाहरुमा अहिलेपनि पानी परीक्षण गर्ने सुविधान नहुँदा नागरिक दुषित पानी पिउन बाध्य छन् ।’

उनले समुदायस्तरको सञ्जाललाई सक्रिय बनाउँदे सरसफाई तर्फ क्षमता अभिबृद्धि गरी चर्पीको अवस्थामा सुधार ल्याउन सुझाव दिए । कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विपद् प्रतिकार्यदेखि आँखा उपचार तथा स्वयंसेवक गठन जस्ता कार्यमा सामाजिक विकास मन्त्रालय रेडक्रसको साथ रहेको बताए ।

उनले पछिल्लो समय रेडक्रसको संगठन भित्र समेत पछिल्लो समय राजनीति गन्ध घुसेकाले त्यसलाई हटाएर मुल मर्म अनुसार आफ्ना गतिविधिहरु सञ्चालन गर्न सुझाव दिए ।  गोष्ठीमा कर्णाली प्रदेश वटै जिल्लाका सहभागि रेडक्रसकर्मीबीच आइपर्ने विपद्बाट बच्न गर्नुपर्ने पूर्वतयारी, अपनाउनुपर्ने उपाय र प्रतिकार्य योजना निर्माणका विषयमा व्यापक छलफल हुने नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशका सभापति लिलाराम सुवेदीले जानकारी दिए ।

उनले कर्णालीको सुर्खेत बाहेक अन्यत्र ब्लड बैंक नरहेकाले अब प्रदेश स्तरीय ब्लड बैंक स्थापनाका लागि प्रदेश सरकारले सोच्नु पर्ने बेला आएको बताए । वर्तमान आवश्यकतामा आधारित आधुनिक प्रविधिसँग जोडेर प्रदेश भरी रक्त सेवाको अवस्थालाई सूचनामैत्री बनाउन सफ्टबेयर बनाउन समेत आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले जलवायु परिवर्तनको असरले समेत कर्णालीमा विपद्का घटनाहरु बढिरहेकाले त्यसतर्फ पूर्व तयारी आवश्क रहेको औल्याए । उनले कर्णालीका हिमालदेखि पहाडसम्म जलवायु परिवर्तनका प्रतिकुल असर देखिएकाले प्रतिकार्यका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रेडक्रस जस्ता संस्थाहरुसँग हरसम्भव सहकार्य तथा समन्वय गर्न तयार रहेको जनाए ।

त्यस्तै सशस्त्र प्रहरी बल महेश्वरी बहिनी सुर्खेतका निमित्त बाहिनीपति प्रकाश थापाले कर्णाली प्रदेशका दश वटै जिल्लाहरु विपद् प्रतिकार्य युनिटहरु खडा गरिएको बताए । उनले रेडक्रस जस्ता संस्थाहरुसँग समन्वय तथा सहकार्य गरेर सशस्त्र प्रहरीले विपद् प्रतिकार्यका आफ्नो भूमिकालाई निर्वाह गर्दै आईरहेको जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बलले आफ्ना यूनिटहरु मार्फत आगजनी, बाढीपहिरो तथा सडक दुर्घटना जस्ता विपद् प्रतिकार्य अभ्यासहरु गर्दै आईरहेको छ । यस्तै नेपाल रेडक्रस सोसाईटी सुर्खेत शाखाका सभापति रामलाल आचार्यले समुदाय तथा विद्यालयस्तरमै बालस्वास्थ्य कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औल्याए ।

उनले एम्बुलेन्सहरुको नयाँ मापदण्ड निर्धारण गरिएपनि कर्णाली प्रदेशमा अनुगमन तथा मूल्यांकनको अभावले कार्यान्वयनमा फितलो देखिएको जनाए । उनका अनुसार प्रत्यक एम्बुलेन्समा जीपीएस प्रणालीसँगै ‘ख’ श्रेणीका मात्र सञ्चालन गर्नुपर्ने नियम बनाईएपनि कार्यान्वयनमा आउन सकेको छैन् । अहिले कर्णालीमा १० वर्ष भन्दा पुराना एम्बुलेन्स समेत सञ्चालन गरिएको उनको भनाइ छ ।

Translate »