बबईमा डिजिटल चेकजाँच मेसिन राखिनेछ : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सवारी साधनको चेकजाँचका लागि कर्णाली प्रदेशको मुख्य नाका बबईमा डिजिटल चेकजाँच मेसिन राख्ने तयारी भईरहेको बताएका छन् ।
आज पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उनले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन डिजिटल मेसिनले सवारी साधनको रेकर्डसँगै चेकजाँच गर्ने जनाए । मुख्यनाकामा बाहिरी प्रदेशबाट आउने तरकारीको चेकजाँच गर्नका लागि क्वारेन्टाइन समेत राख्ने बारेमा प्रदेश सरकारले छलफल गरिरहेको उनले बताए ।
‘भेरीगंगाको प्रशासनीक भवन राम्रो र सुविधासम्पन्न बनेको छ । भवनले संस्थागत सुदृढीकरणसँगै सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु,’ उनले भने, ‘हिजो पनि भवन थिए । हिजोको भन्दा व्यबस्थित भवन भएजस्तै सेवाप्रवाहमा नागरिकलाई सकारात्मक अनुभुति हुने गरी सर्वसाधारण जनताको भवनको रुपमा परिणत गर्नु होला ।’
उनले कर्णाली प्रदेश राजधानी सुर्खेतको प्रमुख प्रदेशद्वार भेरीगंगालाई व्यबस्थित र राम्रो बनाउन प्रदेश सरकार प्रयासरत रहेको बताए । भेरीगंगाको बाटो भएरनै पर्यटक राराताल, से–फोक्सण्डो, लिमिलाप्चाबाट मानसरोवर, हिल्सा र नाग्चेनाङ्लाका चिनिया भञ्सार क्षेत्र पुग्ने हुँदा प्रवेशद्वारलाई कलात्मक गहनाको शहरका रुपमा विकसित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
‘भेरीगंगामा विमानस्थल बनाउने सम्भाव्यता अध्ययन गर्न तात्कालिन पर्यटन मन्त्री स्वर्गीय रबिन्द्र अधिकारी यहाँ आउदा म सँगै थिए । नयाँ ठाउँमा सुविधासम्पन्न विमानस्थल बनाउने कुरामा मेरो समर्थन छ,’ उनले भने, ‘तर म, मेरो पार्टी सहित सबै राजनीतिक दलहरुको सर्वदलीय बैठकले नै हाल सञ्चालनमा रहेको एअरपोर्टलाई केही विस्तार गरेर प्रदेशका हिमाली जिल्लाहरुमा नियमित हवाई उडान गर्ने साझा निर्णय भएको छ ।’
प्रदेशको समग्र विकाका लागि राजनीतिक दल समेत एकजुट भएर लाग्न आवश्यक रहेको औल्याउँदै उनले विकास निर्माणमा राजनीतिक प्रतिष्पर्धाको ठाउँमा सहयात्री बन्न आग्रह गरे ।
‘विकासमा पनि आवधिक निर्वाचन देख्न थालियो भने भावनात्मक एकता हुदैन । जब राजनीतिक दलहरुमा अन्तरविरोध पैदा हुन्छ तब संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक व्यबस्था र परिवर्तनका लागि लडेका दलहरुप्रति टिप्पणी र विकल्पका कुरा उठाईन्छ । तसर्थ विकास र निर्माणमा सबै दलहरु एकताबद्ध भएका जुटौं,’ उनले भने, ‘२०७९ को निर्वाचन पछि राजनीतिक सत्ताका लागि भईरहेको छिनाझप्टीले जनतामा निरासा मात्र ल्याएन देशमा गम्भीर आर्थिक संकटहरु देखिदै गएकाले मुलरुपमा प्रतिष्पर्धी भएपनि जनताको भरोसालाई उठाउन, देश र जनताको विकास र समृद्धिको चाहना पूरा गर्न जुटौं ।’
उनले मुलतः आर्थिक संकटको व्यबस्थापन, संविधान र व्यवस्था विरुद्धको पछिल्लो अराजकताको अन्त्यका लागि नेपाली काङ्ग्रेस र नेकपा एमाले सम्मिलित गठबन्धन बनेको जिकिर गरे । पछिल्लो समय देशमा विकसित भईरहेको अराजकताको अन्त्यका लागि परिवर्तनको पक्षमा लडेका दलहरु विविधताका वीच विकास र नवनिर्माणका मुद्दामा एक ठाउँमा उभिनु वर्तमान आवश्यकता रहेको उनको भनाइ थियो ।
‘राज्यप्रति जनताका धेरै अपेक्षा छन । अपेक्षित नभएपनि हिजोभन्दा आज हाम्रो अवस्था बदलिएको छ । केही विकास निर्माण र भौतिक पुर्वाधार विकास भएकोछ । यो सकारात्मक परिणाम हो,’ उनले भने, ‘ विकास, निर्माण र जनताको समृद्धिको काम सरकार, जननिर्वाचित प्रतिनिधि र सरकारी संयन्त्रको मात्र जिम्मेवारी हो भन्ने परम्परागत सोचलाई बद्ल्दै राजनीतिक दलहरुका तहगत कमिटीहरु पनि यो महाअभियानमा संलग्न हुनु पर्दछ ।’
कार्यक्रममा भेरीगंगा नगरपालिका प्रमुख यज्ञप्रसाद ढकालले साढे ६ करोड बढी लागतमा बनेको नवनिर्मित तीन तले भवन अछामको ईन्द्रधनु निर्माण सेवाले तोकिएको समय भन्दा अगाबै निर्माण सम्पन्न गरेको जानकारी दिए । उनले करिब ६ सय वर्गमिटरमा बनेको भवनमा सभाहल, बैंठक कक्ष, सोधपुछ कक्ष र हेल्थ हेल्प डेक्स जस्ता आधुनिक सुविधा रहेको बताए ।
नवनिर्मित भवनबाट एकीकृत सेवा प्रवाह हुँदा नागरिकलाई थप सहजता पुग्ने अपेक्षा उनले व्यक्त गरे । उद्घाटन कार्यक्रममा आर्थिक मामिला मन्त्री राजीवबिक्रम शाह, प्रदेश सभा सदस्य कृष्णबहादुर जिसी, प्रदेशका पूर्वमन्त्री खड्कबहादुर खत्रीले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख धनसरा बोहरा, राजनीतिक दलका प्रमुख, विभिन्न सरकारी कार्यलयका प्रमुख, उद्योग वाणिज्य संघ भेरीका अध्यक्ष सोमराज ढकाल, भेरीगंगा नगरपालिका पूर्व प्रमुख–उपप्रमुख सहितको सहभागिता रहेको थियो । उद्घाटनमा रामघाटको घोडेनाच, चिङ्घाटको लहरे नाच, राजी नाच, सिंगारु नाच सहित साँस्कृतिक झाँकी प्रस्तुत गरिएका थिए ।