कर्णालीबाट श्रम स्वीकृति लिने बढे

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा श्रम तथा रोजगार कार्यालय खुलेपछि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज भएको छ ।

श्रम तथा रोजगार कार्यालय सुर्खेतमा स्थापना भएपछि श्रम स्वीकृतिका लागि काठमाडौं जानुपर्ने बाध्यताको अन्त्यसँगै श्रमिकलाई सहज भएको हो । कार्यालयका अनुसार चाल आर्थिक वर्षको पछिल्लो नौ महिनामा सुर्खेतबाट १३ हजार ३ सय १४ जनाले श्रम स्वीकृति लिएका छन् ।

ती मध्य ५ हजार ९ सय ६१ जनाले पुनः श्रम स्वीकृति लिएका छन भने ७ हजार ३ सय ५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका हुन् । श्रम कार्यालयका प्रमुख (वरिष्ठ श्रम अधिकृत) हरिप्रसाद देवकोटाका अनुसार कर्णालीबाट गत आर्थिक वर्ष २०८०/०८१ मा कुल ११ हजार ४८ जनाले श्रम स्वीकृति लिएका थिए । ती मध्य ५ हजार २ सय ४७ जनाले पुनः श्रम स्वीकृति र ५ हजार ८ सय १ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएको उनले जानकारी दिए  ।

उनले चालु आर्थिक वर्षको पछिल्लो नौ महिनामा कार्यालयले ५० वटा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धि निरीक्षण गरिएको बताए । सोही अवधिमा कर्णालीका १ सय ७३ वटा व्यवसायिक फर्म तथा प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा दर्ता हुन निर्देशन दिईएको उनको भनाइ छ ।

कार्यालयले पछिल्लो नौ महिनामा २ सय २ वटा व्यवसायिक प्रतिष्ठानमा न्यूनतम पारिश्रमिक दिए/नदिएको अनुगमन गरिएको कार्यालयका श्रम अधिकृत श्रीसमशेर रानाले बताए । उनले व्यवसायिक प्रतिष्ठानमा अनुगमन कडाई गरिएपछि ६९ वटा व्यवसायिक प्रतिष्ठानलाई श्रम अडिट गर्न निर्देशन दिएको जानकारी दिए ।

उनका अनुसार हालसम्म कर्णालीका १ सय ९२ वटा व्यवसायिक प्रतिष्ठानले श्रम अडिट कार्यालयमा पेश गरेका छन् । कार्यालयका सूचना अधिकारी हेमन्त चुनाराले कर्णालीका ९० वटा व्यवसायिक प्रतिष्ठानलाई बैकिङ प्रणाली मार्फत कारोवारको भुक्तानी गर्न निर्देशन दिएको बताए । उनका अनुसार हालसम्म कर्णालीमा ९८ वटा व्यवसायिक प्रतिष्ठानले बैकिङ प्रणाली मार्फत कारोवारको भुक्तानी गरिरहेका छन् ।

यसैवीच कार्यालयको उद्योग शाखाले चालु आर्थिक वर्षको पछिल्लो नौ महिनामा कर्णालीका २ सय २ वटा उद्योग प्रतिष्ठानको निरीक्षण तथा अनुगमन गरेको छ । कार्यालयले यसवीच ३ पटक श्रमिक शिक्षा सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरेको जनाएको छ ।

Translate »