एमालेले सुर्खेतमा चैत २६ गते जनजागरण सभा गर्दै

सुर्खेत । नेकपा एमाले सुर्खेतले यहीं चैत २६ गते वीरेन्द्रनगरमा हुने जनजागरण सभाका लागि आवश्यक सम्पूर्ण तयारीहरु पुरा भएको जनाएको छ ।
जिल्ला कमिटीले आज पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय मंगलगढीचोकदेखि शुरु हुने ¥याली बीच बजारहुँदै पिपलचौतरामा पुगेर जनजागरण सभामा परिणत हुने जानकारी दिएको हो ।

‘लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा ऐक्यवद्धता जनाऔं, वृहत् जनप्रर्दशनसहितको जागरणसभामा सहभागी बनौं’ भन्ने मूल नाराका साथ हुने सभालाई एमाले महासचिव शंकर पोखरेल सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए । उनले एमाले सुर्खेतको आयोजना तथा प्रदेश कमिटीको संयोजनमा हुने जनप्रर्दशनमा करिब १० हजार सर्वसाधारण सहभागि हुने बताए ।
नेपाली जनताका लागि कुनैपनि प्रकारको निरंकुशता, पश्चगमन र वंशगत आधारमा सामन्तीतन्त्र अस्वीकार्य हुँदै आएको उल्लेख गर्दै अध्यक्ष देवकोटाले देशीविदेशी शक्तिहरूले गणतन्त्र र संविधान विरोधी प्रतिगामी षडयन्त्रहरू गर्न खोजिरहेकाले अराजकता र मुलुकलाई अस्थिर बनाइराख्ने क्रियाकलाप विरुद्ध जनजागरण सभा आयोजना गर्न लागिएको जनाए ।
कार्यक्रममा एमाले कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, प्रदेश अध्यक्ष गुलाबजंग शाह, सुर्खेत जिल्ला ईन्चार्ज नवराज रावतलगायतको उपस्थिति रहेको थियो ।