भट्टराई कुलवंश कर्णाली प्रदेश समितिद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम

सुर्खेत ।भट्टराई कुलवंश प्रतिष्ठान कर्णाली प्रदेश समितिले शनिवार सुर्खेतको वीरेन्द्रनगरमा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान तथा २०८२ सालको भित्तेपात्रो विमोचन कार्यक्रम गरेको छ ।
केन्द्रिय उपाध्यक्ष एवम् प्रमुख अतिथि यज्ञप्रसाद भट्टराईको प्रमुख आतिथ्यता र प्रदेश अध्यक्ष कांशीराम भट्टराईको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम गर्दै वशिष्ठ ऋषीको सम्झनामा भित्तेपात्रो विमोचन गरी कार्यक्रम शुभारम्भ गरिएको हो ।
शुभकामना आदान प्रदान कार्यक्रममा भट्टराई परिवारको कुल पुजा तथा वंशाबलीमा नाम छुट भएको परिवारको लगत संकलन गरी आगामी प्रकाशनमा समावेश हुने गरी केन्द्रमा पठाउन पहल भइरहेको प्रतिष्ठान कर्णालीका अध्यक्ष कांशीरामले बताए । कर्णाली प्रदेश अध्यक्ष कांशीरामले नयाँ वर्ष २०८२ सालले भाई–भाईमा एकताबद्ध हुँदै समाजमा उदारणीय परिवार बन्न आजको आवश्यकता बन्दै गईरहेको औल्याए ।
उनले आफ्नै घरभित्रबाटै आफ्ना सन्ततिहरुलाई कुल देवता, वशिष्ठ ऋषी, कुल पूजाका विधि तथा धामी धनन्तरीका वारेका जानकारी गराउँदै सकरात्मक सोचको विकास गराउन आवश्यक रहेको जनाए । कर्णली प्रदेश भित्र मुगु र डोल्पा जिल्ला वाहेक आठ जिल्लामा भट्टराई परिवारको बसोबास रहेको र रुकुम पश्चिम बाहेक का सात जिल्लामा जिल्ला समितिहरु गठन भइ क्रियाशील रहेको एवं कालिकोट, रुकुमपश्चिम र मुगु का भट्टराई परिवार को वंशावली जोडिन बाँकी रहेको जानकारी दिए ।

कार्यक्रममा यज्ञप्रसाद भट्टराईले भट्टराई परिवारको इतिहास हेर्दै जाँदा जुम्लाको सिजा क्षेत्रमा भट्टराईहरुको बसोवास रहेको तथ्य प्रमाण शिलालेख, ताम्रापत्र, भोजपत्रमा उल्लेख भए अनुसार १३२० भन्दा पहिलादेखि नै रहेको पाइएको बताए । उनले वंशावली प्रकाशनका क्रममा राजपरिवार पछि २०२४ सालदेखि नेपालमा भट्टराई वंशावली प्रकाशनको प्रयाससंगै २०४९ सालमा प्रथम वंशावली प्रकाशन भएको जानकारी दिए ।
प्रतिष्ठानका सल्लाहकार एवम् समाजसेवी शिवप्रसाद उपाध्याय भट्टराईले परिवारको इतिहास कुल पुजा र कुलवंशका बारेमा एकरुपता कायम गरी सामाजिक क्षेत्रमा उदारणिय कार्य गर्न आवश्यक रहेको औल्याए । उनले भट्टराई परिवारबाट सबैले अनुसरण गर्न सक्ने ब्यवहार र कार्यको अपेक्षा गरिएको र यस परिवारमा रहेका उच्च शिक्षा हाँसिल गरेका सन्तानहरुको अभिलेख समेत संकलन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु देवी भट्टराई, प्रेमप्रसाद भट्टराई गढी, सुर्खेत जिल्ला अध्यक्ष खगेन्द्रप्रसाद भट्टराईलगायत सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट मुगु र सल्यान जिल्लामा बसोबास गर्ने भट्टराईहरुको उपस्थिति रहेको थियो ।