प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता, मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । सरकारको कामकार्वाहीलाई लिएर सत्तरुढ दल नेपाली काँग्रेसका केही नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुरबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयीक विषयहरुमा छलफल भएको बताइएको छ । विशेषगरी शिक्षक जारी आन्दोलन, दुई दलबीचको सहमति कार्यान्वन, दुई दलको राजनीतिक संयन्त्रको बैठक बस्ने लगायतका विषयमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल केन्द्रीत भएको प्रधानमन्त्रीको सचिवालय जानकारी दिएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल प्रचण्डले नयाँ वर्षसँगै सत्ता परिवर्तन हुने अभिव्यक्ति दिइरहेका बेला सत्तारुढ दलका दुई प्रमुख नेता ओली र देउवाबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सचिवालय बालुवाटरले भने दुई नेता वीच नियमित भेटका क्रममा अराजकता नियन्त्रण र सरकारलाई थप कसरी बलियो बनाएर अघि बढ्ने भन्ने विषयमा केन्द्रित रहेको बताएको छ ।
दुई नेता वीचको वार्तामा प्रचण्डले पछिल्लो समय सरकार परिवर्तनको हल्ला चलाएर मुलुकमा अराजकता मच्चाउने योजनाको छटपटी उजागर भएको निष्कर्ष निकालेको छ । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले नयाँ घटनाक्रम विकसित भएको र आफूले‘ नयाँ अनुभवका आधारमा यो कुरा बोलेको दाबी गरेका थिए ।
देउवासँग भेटेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक बेलुका ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।