हुम्लामा बाढी पहिरोले पशुचौपाय र भौतिक संरचनामा क्षति


हुम्ला। हुम्लाको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारमा वर्षापछि आएको बाढी पहिरोले पशुचौपाय र भौतिक संरचनामा क्षति पु¥याएको छ ।
बाढी गोठमा पसेपछि अदानचुली गाउँपालिका–३ का आइते बुढाको बाख्राको गोठ भत्किदा २६ बाख्रा मरेका छन् भने श्रीनगरका घर तथा पसलहरूमा समेत क्षति पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए ।

स्थानीयका अनुसार १० भन्दा बढी घर तथा पसलमा क्षति पुगेको छ । यद्यपि क्षतिको एकिन विवरण आउन बाँकी रहेको छ ।
अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले क्षति ठुलो मात्रामा भएको र अहिले प्रहरीले विवरण सङ्कलन गर्ने काम गरिरहेको बताए। बाढीले अमृत बुढाको पसल बगाएको छ भने आसपासका ११ पसलमा क्षति पुर्याएको हुम्लाका पत्रकार कालीबहादुर थापाले जानकारी दिए ।

