‘कानून निमार्ण तथा कार्यान्वयन गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’

 सुर्खेत । कानून निर्माण तथा कार्यान्वयन गर्न सञ्चारमाध्यमको भूमिका प्रभावकारी रहेको सरोकारवालाले बताएका छन् ।

कर्णाली प्रदेशसभा सचिवालयले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कानून निमार्ण र कार्यान्वयनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी सरोकारवालाले आमसञ्चार माध्यमलाई सवल र सक्षम बनाउन आवश्यक रहेको औल्याएका हुन् ।

संसदीय मामिला पत्रकार समाज कर्णाली, संसदीय पत्रकार मञ्च कोशी र कर्णाली प्रदेश सभा सचिवालय वीच भएको त्रि–पक्षिय अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले कानून कार्यान्वयनलाई प्रभावकारी बनाउनका लागि मिडियाले महत्वपूर्ण भूमिका खेल्दै आईरहेको बताए ।

उनले पत्रकारहरुको क्षमता विकास, गुणस्तर बृद्धि गर्न प्रदेश सभाले सक्दो सहयोग गर्ने जनाए । कार्यक्रममा संसदीय पत्रकार मञ्च कोशी प्रदेशका सल्लाहकार लिला बल्लभ घिमिरेले जवाफदेही शासन र नागरिकमा आलोचनात्मक चेतको वृद्धि गर्न मिडियाको भूमिका एक महत्वपूर्ण आधारशिला भएको बताए ।

उनले सुसूचित र सशक्तिकृत नागरिक तयार गर्न मिडियाले सघाउने मात्र होइन अफवाह, झुट प्रचारबाजीका विरुद्ध दरिलो किल्लाको रुपमा उभिने गरेको जनाए । संसदीय पत्रकार मञ्च कोशी प्रदेशका अध्यक्ष कुमार लुईटेलले संसदीय पत्रकारहरु वीचको अनुभव आदान–प्रदानबाट प्रदेश सरकारहरुको नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले पत्रकारहरुको पेसागत सीप, क्षमता र तालिम जस्ता कार्यक्रमहरु प्रदेश सभाले सञ्चालन गर्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले कानून निर्माणमा आमनागरिकको पहुँच नपुग्ने भएकाले त्यसको भूमिका पत्रकारले निर्वाह गर्दै आएको बताए । उनले सञ्चारमाध्यमहरुको क्षमता विकास गरी प्रदेश सभाले स्वतन्त्र, निष्पक्ष र सन्तुलित समाचार प्रवाह गर्ने वातावरण बनाउन आग्रह गरे ।

Translate »