तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्न वीनपाका मेयर ढकालको आग्रह

अनिता विक/ सुर्खेत । वीरेन्द्रनगर नगरपालिका (वीनपा) का मेयर मोहनमाया ढकालले तथ्यमा आधारित सत्य समाचार संप्रेषण गर्न पत्रकारलाई आग्रह गरेकी छन् ।

प्रेस चौतारी नेपाल सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको ‘स्थानीय तहमा समाचारका विषयवस्तु विषयक’ अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर ढकालले सञ्चारमाध्यमले सत्य–तथ्य सूचना मात्रै जनतामाझ पु¥याउनुपर्ने बताएकी हुन् । उनले तथ्यहीन र भ्रामक समाचारले समाजमा नकारात्मक असर पुग्ने गरेकाले खोजी र अनुसन्धानमुलक सूचना सम्प्रेषण गर्न सुझाव दिईन् ।

पछिल्लो समय आमसञ्चारका नाममा सामाजिक सञ्जाल, अनलाइन र युट्युबहरुमा गलत, मनोगत र अनुमानमा आधारित तथ्यहीन विषयवस्तुले प्रश्रय पाईरहेको बताउँदै उनले लोकतन्त्रको रक्षा, मानवअधिकार, विधिको शासन र सामाजिक रुपान्तरणका लागि पत्रकारिता हुनुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा वीरेन्द्रनगरका उपमेयर नीलकण्ठ खनालले नागरिकलाई सुसूचित र अभिव्यक्ति स्वतन्त्रताको जगेर्ना गर्न पत्रकारले राम्रो कामको प्रशंसा र नराम्रो कामको खबरदारी गर्नुपर्ने बताए । वीरेन्द्रनगर भित्र लुकेका र लुकाईका थुप्रै विषयवस्तु अझैपनि बाहिर ल्याउन आवश्यक रहेको बताउँदै उनले निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्न सुझाव दिए ।

कार्यक्रममा नेकपा एमाले सुर्खेतका प्रचार तथा प्रसार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले आम नागरिकता प्रति जवाफदेही हुने पत्रकारिता नै आजको आवश्यकता भएको बताए । त्यस्तै प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज यामप्रसाद शर्माले नेपाली पत्रकारिताको उन्नयन र विकासका लागि तीनै तहका सरकारसँग प्रेस चौतारी हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

यस्तै प्रेस चौतारी नेपाल सुर्खेतका अध्यक्ष मुना हमालले स्थानीय तहमा विकास निर्माणदेखि समाज रुपान्तरणका लागि उठान गर्नुपर्ने समाचारका थुप्रै विषयवस्तुहरु रहेकाले जिल्लाका सबै पालिकासँग समन्वय तथा सहकार्य गरिने बताईन् ।

उनले वीरेन्द्रनगर नगरपालिकाले पत्रकारिताको विकास तथा उन्नयनका लागि धेरै राम्रा प्रयासहरु शुरु गरेपनि अझै पर्याप्त हुन नसको औल्याईन् । कार्यक्रममा पत्रकार प्रकाश अधिकारीले ‘स्थानीय तहमा समाचारका विषयवस्तुको पहिचान र विषयक’ कार्यपत्र नै प्रस्तुत गरेका थिए ।

Translate »