कर्णालीमा निर्वाचन लक्षित सुरक्षा निकायको स्थालगत संयुक्त अनुगमन

 सुर्खेत । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी कर्णालीका विभिन्न निर्वाचन क्षेत्रमा सुरक्षा तयारी र अनुगमन तीव्र पारिएको छ ।

निर्वाचनलाई मर्यादित, व्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ प्रदेश निर्वाचन कमाण्ड पोष्ट÷प्रदेश निर्वाचन सेलका प्रमुख एवम् कर्णाली प्रदेश सरकारका मुख्य सचिव वीरेन्द्रकुमार यादवको नेतृत्वमा स्थलगत अनुगमनलाई तीव्रता दिईएको हो । प्रदेश स्तरीय सुरक्षा निकायका उच्च अधिकारी सम्मिलित टोलीले आज सुर्खेतपछि दैलेखका विभिन्न निर्वाचन अधिकृतका कार्यालयहरुको स्थलगत अनुगमन गरेको छ ।

अनुगमन टोलीले निर्वाचनलाई लक्षित गर्दै सुर्खेतका विभिन्न प्रहरी ईकाइहरु तथा निर्वाचन सुरक्षासँग सम्बन्धित तयारी अवस्थाको स्थलगत निरीक्षण तथा अनुगमन गरेको हो । अनुगमनका क्रममा प्रहरी कार्यालयहरुको सुरक्षा अवस्था र निर्वाचन सम्पन्न गर्न गरिएका अन्य प्राविधिक तयारी बारे विस्तृत जानकारी लिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (एसएसपी) रामप्रकाश शाहले जानकारी दिए ।

उनले निर्वाचन प्रहरी र कार्यरत प्रहरी कर्मचारीलाई अनुशासन, निष्पक्षता, सजगता अपनाई निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन अनुगमन टोलीले निर्देशन दिएको बताए । कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) जयराज सापकोटाले शान्ति सुरक्षालाई बिथोल्ने कुनै पनि किसिमका गतिविधि र क्रियाकलाप माथि कडा निगरानी राख्न मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिए ।

नागरिकको शान्ति सुरक्षा र अमनचयनका लागि अहोरात्र परिचालित सुरक्षा फौजले आफ्नो दायित्व पुरा गर्नु पर्नेमा उनले जोड दिए । निर्वाचनको माहौल चरम उत्कर्षमा पुगिरहेका बेला शान्ति सुरक्षालाई असर पर्ने कुनैपनि क्रियाकलाप हुन नदिन नहुने उनको भनाइ थियो ।

निर्वाचनको मिति नजिकिँदै जाँदा मतदाताले सुरक्षित महसुस गर्ने गरी सुरक्षा रणनीति तय गरिएको र सबै निकायबिच समन्वय प्रभावकारी बनाउन यस्तो अनुगमन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी शाहले बताए । अनुगमन टोलीले निर्वाचन स्थलको भौतिक सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षाका साथै मतदानका दिन अपनाइने विशेष सुरक्षा सतर्कताबारे समेत आवश्यक निर्देशन दिएको उनको भनाइ छ ।

कर्णाली प्रदेशका १० जिल्लामा ३५९ वटा मतदानस्थल अति संमवेदनशील, ४२२ वटा संवेदनशील र १६० वटा सामान्य रहेका छन् । प्रदेशमा रहेका ९४१ वटा स्थायी र १८ वटा अस्थायी गरेर ९५९ वटा मतदानस्थल रहेका छन् ।

Translate »