प्रदेश अस्पताल सुर्खेतमा आइतबार र शनिबार सार्वजनिक बिदा लागू गर्ने निर्णय

सुर्खेत ।  प्रदेश अस्पताल सुर्खेतले आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ ।

अस्पतालले नेपाल सरकार मन्त्रिपरिषद्‌को निर्णय अनुसार शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिन लागेको हो । शनिवार र आइतवार ओपिडी तथा प्रशासनिक सेवा बन्द रहेपनि आकस्मिक तथा अन्तरंग लगायतका सेवाहरु यथावत सुचारु रहने अस्पतालका निर्देशक (डाक्टर) गणेश थापाले बताए ।

उनका अनुसार अस्पतालका सबै सेवाहरु बिदा बाहेकका अन्य दिनमा बिहान ९ः ०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म सञ्चालन हुने छन् ।

स्वास्थ्यकर्मीको मनोबल र हितलाई ध्यानमा राखी बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न र सरकारको हप्तामा दुईदिन सार्वजनिक बिदाको नीतिअनुरुप शनिवार र आइतबार बिदा दिने निर्णय गर्नु परेको उनको भनाइ छ ।

बिदाको दिनमा बिरामीले कुनै पनि सास्ती भोग्न नपरोस् भनी अस्पतालले सम्भव भएसम्म अन्तरङ्ग र आकस्मिक सेवाहरु सधैंझैं २४ घण्टा सेवा प्रदान गर्ने छ ।

Translate »