२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 24, 2026

समृद्धिको यात्रामा लागौं : मन्त्री रावल



स्काई न्यूज /पुस १४, सुर्खेत ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले धार्मिक सहिष्णुता राखेर सरकारले तय गरेको समृद्धिको यात्रामा लाग्न सबैलाई अपिल गरेका छन् । अँग्रेजी नयाँ वर्ष सन् २०२० को पूर्वसन्ध्यामा ईसाई समाज सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै मन्त्री रावलले बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक र बहुजातीय देश नेपालमा विविधता भित्र एकता कायम भएको जिकिर गरे । उनले मुलुक धर्मनिरपेक्ष भइसकेकाले विभिन्न धर्ममा आस्था राख्ने सबै समुदायका नागरिकहरुलाई धार्मिक सहिष्णुता र सद्भाव कायम गर्दै देश विकासमा लाग्न सुझाव दिए ।

‘कर्णाली प्रदेश सरकारले लिएको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ को लक्ष्य हामी सबै धर्म सम्प्रदायका मान्छेहरु मिलेर पुरा गर्नुपर्छ,’ उनले भने, ‘यो ख्रीष्टमस पर्वले हामी सबैलाई एक भएर काम गर्ने प्रेरणा मिलोस् । नयाँ वर्षको नयाँ उर्जाले कर्णाली प्रदेशको विकास र समृद्धिमा टेवा पुगोस् ।’ कार्यक्रममा ईसाई धर्मगुरु रेभरेण्ड डा.बालकृष्ण शर्माले धर्म र संस्कृतिले चरित्रवान् एवं निष्ठावान व्यक्ति निर्माण हुनुपर्नेमा जोड दिए । कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले ख्रीष्टियनहरुको कर्मले पनि समाजलाई सुसंस्कृत बन्न सघाउ पुगेको बताईन् । त्यस्तै प्रदेशसभा सदस्य अमृता शाहीले पहिलो पटक कार्यक्रममा सहभागी हुन पाउँदा र ख्रीष्टियन गतिविधिले आफूलाई खुशी तुल्याएको विचार व्यक्त गरिन् । इसाई समाज सुर्खेतका अध्यक्ष रेभरेण्ड पास्टर पदम गैरेले संविधानले व्यवस्था गरेको धर्मनिरपेक्ष राज्यमा सबै धर्मावलम्बीलाई समान व्यवहारगरी असल संरक्षकको भूमिका निर्वाह गर्न अनुरोध गरे ।

प्रकाशित मिति : २०७६ पुस १४ गते सोमबार
Translate »