२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

मिटर ब्याजको ठगी धन्दा : व्याजको पासोमा सुर्खेतका किसान



 

स्काई न्यूज /भदौं ११, सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका थुप्रै किसानले व्यक्तिगत ऋणको फन्दामा परेर सबै सम्पत्ति सिध्याएका छन् । अचम्म त, यसरी फन्दामा पारेर जग्गा हडप्नेमध्ये अधिकांश चिनजानकै र आफन्त छन् । लाटिकोइलीका कुलबहादुर चौधरीलाई ट्याक्टर किन्न र बैंकको ऋण समेत तिर्न पैसा चाहिएपछि उनले आफ्ना ज्वाइँ कृष्णबहादुर चौधरीलाई गुहारे । कृष्णबहादुरले गाउँकै जग्गा कारोबारी रमेश वमलाई भेटाइदिए । साहु बलमे चाहिएको ऋण दिने तर, जग्गा आफ्नो नाममा पास गरिदिनुपर्ने शर्त राखे । २४ कात्तिक २०७७७ मा कुलबहादुरले एक बिघा १६ कट्ठा जग्गा वमका नाममा पास गरी २० लाख रुपैयाँ ऋण लिए ।  पाँच वर्षसम्ममा ऋण चुक्ता गरी जग्गा फिर्ता लिने शर्त भएपनि साहु वमले चार महीनापछि फागुनमै उक्त जग्गा अन्य दुई जनालाई बिक्री गरे । ‘

पाँच वर्षका लागि धितो भनेर मसँग लिएको जग्गा चार महीना बित्न नपाउँदै दुई जनालाई बेचिदिएछन’, कुलबहादुर भने ।  मालपोत कार्यालयको अभिलेख अनुसार वमले उक्त जग्गा मनिष शर्मा र कुलदीप शर्मालाई ९६ लाख रुपैयाँमा बेचेका छन् ।  धितो भनेर नामसारी गरिदिएको जग्गा अर्कैलाई बेचिएको थाहा पाएपछि आक्रोशित कुलबहादुरलाई वमले ‘तीन वर्षमै तपाईंको जग्गा फिर्ता हुन्छ, चिन्ता लिनुपर्दैन’ भनेर थम्थमाएको कुलबहादुर सम्झन्छन् । त्यसै अनुसार तीन वर्षमै कुलबहादुरले ऋण चुक्ता गर्ने र कुलदीप र मनिषले आफ्ना नाममा रहेको उनको जग्गा फिर्ता गर्ने कागज गरिदिए ।

सुर्खेतमा मिटर ब्याजको फन्दामा परेर सिरिखुरी गुमाउनेहरु अधिकांश किसान समुदायका छन् । बैंकबाट लिएको ऋण तिर्नदेखि व्यवसाय गर्न वा छोराछोरी पढाउन पनि चर्को ब्याजदरमा ऋण लिनेले हिसाबकिताब भने दुरुस्त राखेका छैनन् ।  उता कुलदीप र मनिषले जग्गा किनेकै वर्ष एनसीसी बैंकको सुर्खेत शाखाबाट सोही जग्गा धितोमा राखेर ८० लाख रुपैयाँ ऋण लिए । ब्याज र किस्ता समेत नबुझाई ऋणी सम्पर्कविहीन भएपछि उक्त जग्गा अहिले एनसीसी बैंकको नाममा दर्ता भएको छ । ‘पटक–पटक लिलाम बिक्रीका लागि सूचना गर्दा कोही पनि सकार्न आएन, त्यसैले उक्त जग्गा दाखिलखारेज गरी बैंकको नाममा आइसकेको छ’, बैंकको ऋण शाखाका कर्मचारी विष्णु कँडेल भन्छन् ।

थोरै समयका लागि ऋण दिएर चर्काे ब्याज लिने गैरकानुनी धन्दा ‘मिटर ब्याज’ को जालोमा कर्णालीका थुप्रै व्यक्ति परेको पाइएको छ । तत्कालै धेरै कमाइने लोभले मिटर ब्याजमा लगानी गरेका र ऋण लिएका दुवै पक्ष अहिले बिचल्लीमा छन् । स्थानीय प्रशासनले उक्त अवैध कारोबारमा पीडित बनेकालाई उजुरी दिन आह्वान गरेपछि त्यस्तो धन्दामा संलग्नहरूको संख्या धमाधम खुल्न थालेका हुन् । गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार कर्णाली प्रदेशभर मिटर ब्याज कारोबारबाट ठगिएको भन्दै २२ जनाले उजुरी दिएका छन् । यसरी उजुरी दिनेमा सुर्खेतका धेरै छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सूचनामार्फत पीडितलाई उजुरी दिन भनेको थियो । सुर्खेतमा मात्र ११ वटा उजुरी परेका छन् ।

तीमध्ये अधिकांश उजुरी वीरेन्द्रनगर भित्रका हुन् । यसले पनि सहरी क्षेत्रमा मिटर ब्याजको धन्दा बढी हुने गरेको देखिएको छ । चर्को ब्याजमा ऋण दिएर ठग्दै आएका घटनाहरू बाहिरिएपछि गृह मन्त्रालयले २८ साउनमा सूचना जारी गरेर ५ भदौभित्र सम्बन्धित जिल्ला प्रशासनमा त्यस्ता पीडितहरूलाई उजुरी दिन अनुरोध गरेको थियो । प्रशासन कार्यालयहरूले त्यसयता पनि उजुरी आउने क्रम भने जारी रहेको जनाएको छ । मिटर ब्याज पीडित आउने क्रम रहिरहेकोले गृह मन्त्रालयले म्याद थप समेत गरेको छ ।

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेका अनुसार एक जनाले आफू २३ जना व्यक्तिबाट पीडित भएको भन्दै उजुरी दिएका छन् । ती व्यक्तिले २३ जना मिटर ब्याजीविरुद्ध उजुरी दिएको उनले जनाए । प्रशासन कार्यालयमा आएका उजुरीको विवरण हेर्दा चर्को ब्याजमा ऋण दिएर अटोपास गर्ने, तमसुक गर्ने, खाली चेक दिने, रकम असुल नभए मुद्दा गर्ने, बाध्यतामा पारेर घरजग्गा आफ्नो नाममा बनाउने लगायतका गतिविधि हुने गरेको पाइएको छ । यस्ता प्रकृतिका उजुरी धेरै आएको सहायक प्रजिअ पाण्डेले बताए । सहायक प्रजिअ पाण्डेले मिटर ब्याजीविरुद्ध आएका उजुरीहरूको अब अध्ययन थालिने बताए ।

प्रकाशित मिति : २०७९ भदौ १२ गते आइतबार
Translate »