सडक सञ्जालमा फड्को मार्दै कर्णालीमा

विकास र समृद्धिको हिसाबले कर्णाली मुलुकका सबै प्रदेशहरुको तुलनामा निकै पछाडि छ । रोग, भोग, विकटता र अशिक्षाले चित्रण गर्न बाध्य पारिएको कर्णालीको रुप अहिले फेरिन थालेको छ । ढिलै भएपनि कर्णालीमा सडक, विद्युत् र सञ्चार सेवाको विस्तारसँगै असुविधा र विकटताबाट सुगमता र सुविधायुक्त बन्दै गएको छ । पिछडिएको, राज्यले उपेक्षा गरेको, मानव विकास सूचकांकमा कमजोर कर्णाली अहिले विकासको बाटोमा लम्किँदैछ । सामरिक तथा आर्थिकरुपले महत्वपूर्ण मानिएको भारतको तेकुनियादेखि कैलालीको चिसापानी, सुर्खेतको गुटु, अछामको मंगलसेन, बाजुरा– हुम्लाहुँदै मानसरोवर जोड्ने त्रि–देशीय सडक, कैलालीको चिसापानीदेखि सुर्खेतको गुटुहुँदै मंगलसेन जोड्ने फास्ट ट्¥याक, सुर्खेतको घाटगाउँदेखि वीरेन्द्रनगरहुँदै डोल्पा जोड्ने भेरी नदी करिडोर सडक, लगामको धनरासदेखि चौकुनेको कुँवा–छाप्रे–लेखगाउँ–गढी हुँदै सिम्ता जोड्ने सडक कर्णालीको समृद्धिका लागि महत्वपूर्ण मानिएका छन् । यी सँगै गाडी हिँड्ने सडकमात्र नभई समृद्धि बोकेको कर्णालीको लाइफ लाइन ‘कर्णाली राजमार्ग’ हो । यसले विकासको ढोका खोल्ने काम त ग¥यो नै । अहिले विकास ओसार्ने राजमार्गका रुपमा समेत परिणत भएको छ ।

नेपाल–भारत सिमाना जमुनादेखि नेपाल–चीन सिमाना हिल्सासम्म जोड्ने सडकलाई कर्णाली प्रदेशको विकास र समृद्धिको मेरुदण्डका रुपमा हेरिन्छ । सुर्खेत बाङ्गेसिमलदेखि दैलेख, कालीकोट हुँदै एकातर्फ जुम्ला र नेपालकै भू–स्वर्ग मुगु राराताल अर्कोतर्फ कालीकोट, बाजुरा हुँदै नेपालकै सडक सञ्जालसँग जोडिनबाट वञ्चित रहेको हुम्ला जिल्लासम्म जोड्ने कर्णाली करिडोरले कर्णालीमा विकासको मूल फुटाएका छन् । गाउँलाई सहर बनाएको छ । कर्णाली राजमार्ग र कर्णाली करिडोरमा यातायात सञ्चालन भएपछि माथि कर्णाली नागरिकलाई सहजता हुँदै गएको छ । पञ्चायतकालदेखि निर्माण थालिएको कर्णाली राजमार्ग नेपाली सेनामार्फत २०६३ चैत ३० गते निर्माण सम्पन्न भई पहिलो पटक सुर्खेतदेखि जुम्लामा गाडी गुड्यो । यसले अपर कर्णालीको विकासको ढोका नै खोलिदियो । पहिलेका गाउँहरू अहिले कर्णाली राजमार्ग र कर्णाली राजमार्गसँगै जोडिएको कर्णाली करिडोरका कारण सहर बन्दै गएका छन् । कर्णाली राजमार्गको सुर्खेतदेखि जुम्ला १ सय ३२ किलोमिटर र जुम्लादेखि मुगु ९६ किलोमिटरमा नियमित गाडी गुडिरहेका छन् । कर्णाली करिडोरको पनि कालीकोटको खुलालुदेखि बाजुरा र हुम्लाको सिमाना कवाडीहुँदै सलीसल्लासम्मको १ सय ८४ किलोमिटरमा सडक निर्माणकार्य सम्पन्न भइसकेको छ । यसअन्र्तगत कालीकोटमा ४० किलोमिटर, बाजुरामा ४३ र हुम्ला खण्डमा १ सय १ किलोमिटर सडक पर्दछ । बाँकी ६ किलोमिटर सडक निर्माणको अन्तिम चरणमा छ ।

सुर्खेतको बाँगेसल्लादेखि दहीखोलासम्म १ सय २६ किलोमिटर कर्णाली राजमार्ग खण्डमा पक्की सडक निर्माण गरिएको छ । कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको करिब १ सय २२ किलोमिटर सडकमा यातायातसमेत सञ्चालन हुँदै आएको छ । कर्णालीलाई अर्को महत्वपूर्ण मानिएको पुष्पलाल पहाडी राजमार्गसँगै मदन भण्डारी राजमार्गले समेत समृद्धिका लागि थप टेवा पु¥याउने छन् । यद्यपि ! अहिले यी राजमार्गहरु कर्मचारी र ठेकेदारको मिलेमतोले निर्माणमा ढिलासुस्ती भएपनि जनप्रतिनिधिसँगै नागरिक समाजले खबरदारी गर्न आवश्यक देखिन्छ । कोहलपुर–सुर्खेत जोड्ने रत्नराजमार्ग, छिन्चु–जाजरकोट–डोल्पा सडक, रुकुम पश्चिमको त्रिवेणीदेखि सुर्खेतको चौकुने जोड्ने सडक, सुर्खेत–दाङ सडक, सल्यानको खलंगादेखि कुपिण्डेतालहुँदै सुर्खेत जोड्ने सडक, बर्दियाको भुरीगाउँ–तेलपानी–सुर्खेत जोड्ने सडक कर्णालीको समृद्धिका आधार हुन् । कर्णाली प्रदेश सरकारले समेत अन्तर जिल्ला र अन्तर प्रदेश जोड्ने करिब एक हजार साना–ठूला सडक निर्माण कार्यलाई अघि बढाएको छ । भौगोलिक हिसाबले सबैभन्दा ठूलो कर्णाली प्रदेश पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सडकको पहुँचमा पु¥याउनका लागि प्रदेश सरकारले कर्णालीका बस्ती–वस्तीमा ती सडक निर्माण गर्दै आएको छ । कर्णालीका अधिकांश नागरिक विकासको महत्वपूर्ण पूर्वाधार सडकको पहुँचभन्दा बाहिर रहेकाले प्रदेश सरकारले यसमा जोड दिएको हो ।

Translate »