कर्णाली सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सत्ता साझेदार दल नेपाली कांग्रेससँग आन्तरिक छलफल भईरहेकाले छिट्टै प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् ।

मुख्यमन्त्री कँडेलले सत्ता साझेदार एमाले–काँग्रेस वीच अब मन्त्रिपरिषद् पुनर्गठन गर्दा नयाँ तरिकाले अघि बढ्ने समेत जानकारी दिएका हुन् ।

समसामयिक विषयमा रहेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा मुख्यमन्त्री कँडेलले आफ्नो प्राथमिकता भनेकै ‘सुशासन र समृद्धि’ रहेकाले प्रदेश लोक सेवा आयोगमार्फत उपसचिव तहसहित ७५ प्रतिशत कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्र्नेे बताए ।

जनप्रतिनिधिहरुको संस्थाले नीति, कानून पारित गर्ने र कर्मचारी संयन्त्रले त्यसको कार्यान्वयन गर्ने भएकाले कर्णालीमा अभाव भएको कर्मचारी जनशक्ति परिपूर्तिमा आफुहरु जुटिरहेको उनको भनाइ थियो ।

प्रदेश सरकारले पछिल्लो तीन महिनामा कोहलपुर–सुर्खेत १३३ केभी प्रसारण लाइनमा निकुञ्ज क्षेत्रमा आएका समस्या समाधान गरेको, उद्योग, वाणिज्य व्यवसायको दर्ता र नवीकरणको समस्या हल गर्नुका साथै बड्डीचौर–सुर्खेत ३३ केभी प्रसारण लाइन वीरेन्द्रनगरसम्म ल्याउन सकिएको उनले जानकारी दिए ।

प्रदेश सरकारले कुनै पनि निर्णय यथोचित समयमै गरेर अगाडि बढ्ने बताउँदै राजनीतिक परिस्थिति बदलिँदा प्रदेश नीति तथा योजना आयोगमा पदाधिकारी नियुक्तिमा ढिलाइ भएको उनको भनाइ छ । मुख्यमन्त्री बनेको एक सय दिन बितिसक्दा पनि कँडेलबाट कर्णालीबासीले जे अपेक्षा गरेका थिए, त्यो अनुसार काम हुन नसकेको विषय पत्रकारहरुले उठाएपछि उनले अपेक्षित गति दिन नसकेपनि निराशाजनक नै अवस्था नरहेको दावी गरे ।

उनले भने, ‘एक्लै भएको भए अपेक्षा अनुरुप अघि बढ्न सकिन्थ्यो, तर दलीय व्यवस्थामा सामूहिक यात्रामा जानुपर्ने भएकाले तेज रफ्तारमा दौडिन नसकिने हो ।’ नेकपा माओवादी केन्द्रले कणाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अहिले प्रदेशका चार वटा मन्त्रालय मन्त्रीविहिन छन् ।

Translate »