डिभिजन वन कार्यालय सुर्खेतको सुविधायुक्त भवन तयार


डिल बहादुर खत्री /सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वन्यजन्तु तथा वन क्षेत्रको सुरक्षा जिम्मा पाएको डिभिजन वन कार्यालय वीरेन्द्रनगरको सुविधा सम्पन्न नयाँ भवन तयार भएको छ ।
सरकारी कार्यालय क्षेत्रमा बनाईएको उक्त भवन परिसरबाट भदौं पहिलो सातादेखि नियमित सेवा प्रवाह गर्ने योजना बनाईएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ । करिब ७ कठ्ठा क्षेत्रफलमा फैलिएको परिसर भित्र निर्माण गरिएको भवनमा अत्याधुनिक सेवा सुविधा रहेको छ ।
२ करोड १७ लाखको लागतमा बनेको भवन अढाई तलाको रहेको छ । निर्माण ठेकेदार कम्पनी सर्मिला निर्माण सेवाले दुई वर्ष लगाएर बनाएको भवनमा १७ वटा कोठाहरु गरेको डिभिजन वन कार्यालयका लेखाअधिकृत चन्द्रबहादुर चौधरीले जानकारी दिए ।
‘अत्याधुनिक सेवा सुविधासहितको भवन उद्घाटनका लागि तयारी अवस्थामा रहेको छ,’ उनले भने, ‘नयाँ भवनको मुख्य भागमा कार्यालयमा नियमित कार्य गर्ने कर्मचारीका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएका छन् । पिलरअनुसार विभाजन गरिएका कार्यकक्ष दर्ता हुने निवेदन र सेवाग्राहीको चापका दृष्टिले निर्माण गरिएका हुन् । सर्वसाधारणको उजुरी लिने कक्षसमेत भवनमा रहनेछ ।’
उनले पार्किङका लागि हालको खाली रहेको ठाउँ छुट्याइएको जनाए । उनका अनुसार कार्यालय परिसरभित्र कम्तीमा ५० बढी गाडी र मोटरसाइकल अटाउँने व्यवस्था गरिएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख बसन्तबाबु श्रेष्ठले भने, ‘भवन अत्याधुनिक शैलीमा बनेको छ । उपलब्ध भएसम्मका सबै सुविधा जडान गरिएको छ । सम्पूर्ण भाग समेट्ने गरी सिसीटिभी जडान गरिएको भवनमा अभियुक्तसँग बयान लिन छुटै इजलासको समेत व्यवस्था गरिएको छ ।’
उनले विशेषगरी कार्यालय प्रमुख, सहायक कर्मचारी र सुरक्षाकर्मीका लागि विशेष ध्यान ध्यान दिएर भवन निर्माण गरिएको जनाए । आवश्यकता अनुसार भिडियो कन्फरेन्स गर्न सकिने गरी अत्याधुनिक हलको डिजाइनसमेत गरिएको उनको भनाइ छ ।
‘वन कार्यालय अर्धन्यायिक निकाय भएकाले चौविसै घण्टा सेवामा खटिनु पर्ने अवस्थालाई ध्यानमा राखेर भवनको सबै माल्लिो तल्लामा कार्यालय प्रमुख, सहयोगी र सुरक्षाकर्मीका लागि आवासको व्यवस्था गरिएको छ,’ उनले भने, ‘भवनको प्रत्येक कक्षमा प्रकाशको राम्रो पहुँच छ । जसमा वास्तु विज्ञानलाई समेत ध्यान दिइएको छ । भवनको प्रवेशद्वार पनि आकर्षक बनाइएको छ ।’
उनले प्रविधिको उच्चतम् प्रयोग गरेर भवनभित्र एकैपटक ५० जना अटाउने बैठक कक्ष पनि रहेको जनाए । अब भवन परिसर भित्र सुविधा सम्पन्न मेस, नास्ता कक्ष पनि रहने उनको भनाइ छ ।

