२०८३ असोज ३० , शुक्रबार
Sky News Nepal
October 16, 2026

कर्णालीमा कर्मचारी सरुवा बेथिति रोकिँदै

राजनीतिक पहुँचका आधारमा लामो समय एउटै कार्यालयमा बसेका कर्मचारीमा रुवाबासी शुरु


सुर्खेत । कर्णालीमा सरकारको नेतृत्व फेरिनासाथ जथाभावी कर्मचारी सरुवा गर्ने प्रवृत्ति यस पटक रोकिने भएको छ ।

प्रदेश सरकारले यस पटक प्रदेश निजामति कर्मचारीको सरुवा तथा काज सम्बन्धि मापदण्डमा टेकेर गर्ने तयारी गरेपछि जथाभावी कर्मचारी सरुवा गर्ने चलनको अन्त्य हुन लागेको हो । यसअघि मापदण्ड मिचेर हुँदै आएको कर्मचारीको सरुवा रोक्न वर्तमान प्रदेश सरकारले सरुवा, काज तथा कामकाज सम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याउन लागेको छ ।

मापदण्डले यकिन गरेको अवधि, भौगोलिक अवस्था, विशेषज्ञता वा विशेष परिस्थितिबाहेक तोकिएको समयमा मात्र सरुवा गर्नुपर्ने प्रावधानसहितको मापदण्ड कार्यान्वयन हुने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

मापदण्डमा कतिपय कर्मचारीलाई दुई वर्ष अथवा डेढ वर्ष नपुग्दै सरुवा गर्ने र कसैलाई राजनीतिक संरक्षणमा प्रदेश स्थापनाकालदेखि नै एउटै कार्यालयमा बस्न दिने परिस्थितिको यस पटक अन्त्य हुने अपेक्षा गरिएको कर्मचारी नै बताउँछन् । यतिबेला कर्णाली प्रदेशमा कर्मचारी बढुवा, सरुवा, काज खटनपटन कार्य शुरु भएको छ ।

राजनीतिक पहुँचका आधारमा एउटै कार्यालयमा लामो समयदेखि बस्दै आएका कर्मचारीहरुको  बोलबाला अन्त्य  हुने डरले मुख्यमन्त्री कार्यालयदेखि ताल्लुक मन्त्रालयमा दिनहुँ दौडधुप चलिरहेको स्रोतले स्काई न्यूजलाई बतायो ।

तर, प्रदेश सरकारले भने यस पटक पारदर्शीरुपले निजामती ऐनमा उल्लेखित प्रावधानअनुसार खटाएको स्थानमा तोकिएको अवधि भर काम गर्नेुपर्ने, कर्मचारी अभाव हुन नदिने, रानीति आवरणमा एउटै निकायमा लामो समयसम्म बस्ने प्रवृत्ति रोक्ने, विकट स्थानमा लामो समय बस्नुपर्ने बाध्यता हटाउने रणनीति प्रदेश सरकारले अंगिकार गरेको नाम नबताउने शर्तमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका एक कर्मचारीले भने ।

स्रोतका अनुसार अहिले सत्ता नजिक पार्टीमा आस्थावान कर्मचारीहरु मालदार कार्यालयमा सरुवा मिलाउनका लागि तछाडमछाड गरिरहेका छन् । यसअघिका सरकारहरुले प्रावधान मिच्दै कर्मचारीको सरुवा जथाभावी रुपमा गर्दै आएको गुनासो मुख्यमन्त्री यामलाल कँडेलसमक्ष पुगेपछि उनले यस पटक कसैलाई काँखा र कसैलाई पाखा लगाउने काम नहुनेमा ढुक्क रहन आग्रह गरेको स्रोत बताउँछ ।

स्रोतका अनुसार मुख्यमन्त्रीले भनेझै भएमा यसपटक राजनीति पहुँचमा अविच्छिन्न रुपले एउटै कार्यालयमा लामो समयदेखि बसेका कर्मचारीलाई भने अन्यत्र सरुवा हुने निश्चित जस्तै देखिएको छ ।  तर कर्मचारीको चाँसोको रूपमा हेरिएका सुविधा सम्पन्न कार्यालयमा लामो समयदेखि बस्दै आएका कर्मचारीहरूको सरूवा नभएमा यसले कर्मचारीहरुमा निरासापन र वेथिति निम्तिने स्रोत बताउँछ ।

प्रकाशित मिति : २०८१ साउन ३० गते बुधबार
Translate »