प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच न्युयोर्कमा भेटवार्ता

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा भेट भएको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९ औं अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका उनीहरुबीच सोमबार बिहान (न्यूयोर्कको स्थानीय समय अनुसार असोज ६ गते साँझ) भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको छ । भेटपश्चात प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको जानकारी दिएका छन् ।

यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई अझ गति दिन चाहेको ट्विट(एक्स) मार्फत जानकारी दिएका छन् । उनले छलफल ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित रहेको बताएका छन् ।

उनले भनेका छन्,’ ‘भारत–नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं । हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित थियो ।’

भेटमा नेपाल र भारतका विदेशमन्त्री र अन्य अधिकारीसमेत सहभागी थिए । ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि भारत र नेपालका प्रधानमन्त्रीबीच पहिलो पटक भेटवार्ता हो ।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली शुक्रबार कतार हुँदै अमेरिका प्रस्थान गरेका थिए ।

 

Translate »