सल्यानमा गुडिरहेको फोर्स गाडीमा आगलागी

सल्यान । गुडिरहेको फोर्स गाडीमा एक्कासी आगलागी भएको छ । नेपालगन्जदेखि रुकूम पश्चिमको चौफा जाँदै गरेको भे १ ख ३७५० नम्बरको फोर्स गाडी जिल्लाको बाग्चौर नगरपालिका-१ चोरखोला नजिकै आगलागी भएको हो ।

गाडीमा आगलागी भएपछि यात्रुहरुको भागाभाग भएको थियो । गाडीमा भएको आगलागीका बारेमा थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले बताए ।

अहिले थारमारेबाट प्रहरी टोली घटनास्थल गइसकेको छ । उनका अनुसार गुडिरहेको गाडीमा तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । गाडीमा २९ जना सवार थिए ।

गाडी जलेपछि यात्रुहरुका सबै सामग्री जलेर नष्ट भएको उनको भनाइ छ । गाडीमा लागेको आगो अझै नियन्त्रणमा नआएको र नियन्त्रणको प्रयास भइरहेको खत्रीको भनाई छ । आगोले यात्रुको सामान जलेर नष्ट भएको समेत उनले बताए । विद्युत सर्ट भई फोर्स गाडीमा आगो लागेको प्रहरीको अनुमान छ ।

Translate »