पहिलो पटक कोहलपुरमा समलिङ्गी विवाह दर्ता

बाँके । बाँकेको कोहलपुरमा समलिङ्गी विवाह दर्ता भएको छ । जाजरकोटकी ३० वर्षीया सन्जु वि.क. र कोहलपुर १४ की २९ वर्षकी रिचा सुनारले वडा नं. १४ को कार्यालयमा पुगेर समलिङ्गी विवाह दर्ता गराएका छन् ।

वडा कार्यालयले नगरभित्रै पहिलो पटक समलिङ्गी विवाह दर्ता गरेको वडा नं १४ का अध्यक्ष नमबहादुर आले मगरले बताए । ‘विवाह गर्ने जोडीको परिवारसँग समेत कुराकानी गरेर दुवैको राजीखुशीमा विवाह दर्ताको प्रमाणपत्र जारी भएको वडा अध्यक्ष मगरले जानकारी दिए । ‘परिवारसँग पनि कुरा गर्‍यौ, उहाँहरू खुसी हुनुहुन्छ,’उनले भने, ‘दुबैलाई वैवाहिक जीवनको आर्सीवाद दियौं ।’

समलिङ्गी विवाह दर्ता गर्न राष्ट्रिय परिपत्र तथा पञ्जीकरण विभागले १२ वैशाख २०८१ मा सबै स्थानीय तहलाई परिपत्र जारी गरेको थियो । वडा सचिव हरिकृष्ण चौधरीले विभागको परिपत्र अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ताको प्रमाणपत्र दिइएको जानकारी दिए ।

वडा सचिव चौधरीले आफूले धेरै विवाह दर्ता गराए पनि समलिङ्गी विवाह दर्ता भने पहिलो पटक गरेको बताइ । ‘धेरै विवाह दर्ता गराए, समलिङ्गी विवाह दर्ता गरेको भने यो नै पहिलो पटक हो,’ उनले भने, ‘नयाँ सिकाई भयो ।’

सन्जु र रिचाले विवाह दर्ताको निवेदन मङ्गलवार दिए पनि सबै प्रक्रिया पुरा गरेर बिहीबार मात्र प्रमाणपत्र दिइएको सचिव चौधरीले बताए । ‘पहिलो पटक भयो, वडामा यसअघि समलिङ्गी विवाह दर्ता भएकै थिएन,’ सचिव चौधरीले भने, ‘नयाँ कुरा, नयाँ सिकाइ भयो,खुसी पनि लाग्यो ।’

मायाको पहिचान नेपालले कोहलपुर १४ बाँकेमा श्रीमान् सन्जु वि.क. र श्रीमती रिचा सुनारको समलिङ्गी विवाह दर्ता गर्न सफल भएको जनाएको छ । ‘मायाको पहिचान नेपालको पहलमा उनीहरूको विवाह दर्ता हुन सफल भएको छ,’ सचिव सुरेन्द्र पाण्डेले भने, ‘उनीहरुलाई धेरै–धेरै बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं । र कोहलपुर १४ नम्बरका वडाका वडा अध्यक्षज्यू र सचिवज्यूलाई पनि धेरै–धेरै धन्यवाद टक्राउन चाहन्छौं ।’

१३ मङ्सिर २०८० मा माया र सुरेन्द्रले दक्षिण एसियामा पहिलो पटक लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा समलिङ्गी विवाह दर्ता गरेका थिए । समलिङ्गी विवाह दर्ता गर्न सफल जोडीले सामाजिक सञ्जालमार्फत मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरुङ र सुरेन्द्र पाण्डेलाई सहयोग गरिदिएकोमा धन्यवाद दिएका छन् ।

Translate »