एनपीएल : कर्णाली याक्सकाे पहिलो जीत


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत कर्णाली याक्सले पहिलो जीत हाँसील गरेको छ । सुरुवाती दुई खेलमा पराजित कर्णालीले तेस्रो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जीत हाँसील गरेको हो ।
टीयू क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले एक बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गरेको हो । कर्णालीका ओपनर शिखर धवनले सर्वाधिक ४५ रन जोडे । उनले देव खनालसँग ५३ र चाडविक वाल्टनसँग ५५ रनको साझेदारी गरेका थिए । यस्तै चाडविक वाल्टनले ३० र देव खनालले २९ रन बनाए ।

बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिए । जिसम मक्सुदले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक÷एक विकेट लिए । लिगमा तीन खेल सकेको कर्णालीको यो पहिलो जित हो । यसअघि कर्णाली जनकपुर बोल्ट्ससँग आठ र काठमाडौं गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो ।
शुक्रबार (आज) हुने अर्को खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ ।

