लैङ्गिक हिंसा रोकथाम तथा न्यूनिकरणमा सबै पक्ष जिम्मेवार बनौं : मन्त्री भण्डारी


सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले लैङ्गिक हिंसा रोकथाम तथा समानताका लागि गरिएका प्रयासहरुमा प्रगति भएपनि चुनौती कायमै रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यस्थलमा हुने हिंसा तथा उत्पीडन अन्त्य तथा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य संयन्त्रहरुको सबलीकरणमा नीजि क्षेत्रको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सबै प्रकारका हिंसा न्यूनीकरणका लागि परिवार, समाज र सरकारको भूमिका उत्तिकै रहको जनाए ।

उनले पछिल्लो समय शहरीकरण र सूचनाक्रान्तिको विस्तारले लैङ्गिक हिंसाका प्रकृतिसँगै घटनाको संख्यामा बढोत्तरी भएपनि महिला तथा बालबालिकाको क्षेत्रमा आर्थिक सवलीकरणको पाटो अपरिहार्य बन्दै गईरहेको बताए । राज्यले महिला र पुरुष दुबैलाई समानरुपमा अनुत्पादक, उत्पादक र सामुदायिक काममा खट्ने वातावरण मिलाएमा पनि पुरुषको तुलनामा महिला हिंसाका घटनामा कमी ल्याउन सबै पक्षको भूमिका उत्तिकै जवाफदेही रहेको उनको भनाइ थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपाल च्याप्टरका निर्देशक नुमन ओज्कानले कार्यस्थलमा हुने जस्तोसुकै हिंसाको रोकथाम तथा न्यूनिकरणका लागि नीजि–सार्वजनिक साझेदारी अवधारणा अवलम्बन गर्न आवश्यक रहेको औल्याए । उनले सबै स्तरमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सन्यन्त्रको सबलीकरणमा सरकारसँगै नीजि क्षेत्रले समेत सामाजिक उत्तरदायित्व निर्वाह गर्नु पर्नेमा जोड दिए ।

संयुक्त राष्ट्र जनसंख्या कोष नेपालका कार्यक्रम विशेषज्ञ मन्जु लामाले कर्णाली जस्ता दुर्गम क्षेत्रमा महिला तथा बालबालिकाको संरक्षण, संवद्र्वन र परिपूरण गर्नुपर्ने दायित्वका लागि सबै पक्ष जिम्मेवार रहनुपर्ने औल्याईन् । कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले नीजि–सार्वजनिक साझेदारी अवधारणा अनुरुप नै कर्णालीमा लैङ्गिक हिंसा रोकथाम तथा न्यूनिकरणका प्रयासहरु प्रभावकारी बन्दै गएको बताए ।
उनले नीजि क्षेत्र कार्यस्थलमा हुन सक्ने जुनसुकै प्रकारका हिंसा तथा उत्पीडन विरुद्ध सचेत रहेकाले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गदै आईरहेको जनाए । कार्यक्रममा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सामाजिक फोकल पर्सन विना थापा, प्रदेश अस्पताल सुर्खेतका एकद्वार संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन कल्पना थापाले लैङ्गिक हिंसा रोकथाम तथा न्यूनिकरणका बारेमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।


