सिंहदरबारभित्र प्रदर्शन गरेपछि लिङ्देनसहित राप्रपाका तीन नेता प्रहरी नियन्त्रणमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानबहादुर शाही पक्राउ परेका छन् ।

उनीहरुले (निषेधित क्षेत्र) सिंहदरबारभित्रै प्रदर्शन गरेपछि पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए । राप्रपाले निषेधित क्षेत्र तोकिएको माइतीघर बिजुलीबजारमा प्रदर्शन गरेको थियो ।

सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा छलफल पछि बाहिरिने क्रममा उनीहरुले विभिन्न नारा लेखिएका पम्प्लेट प्रदर्शन गरेका थिए । निषेधित क्षेत्र तोड्ने लक्ष्यसहित सडकमा कार्यकर्ताहरुले प्रदर्शन जारी राखेकै बेला सांसदहरु भने सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिए । झुक्याएर पम्प्लेट प्रदर्शन गरेपछि प्रहरीले खोसेका थिए । उनीहरुका गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष एवं उपनेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सिंहदरबारभित्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीनैजनालाई काठमाडौं प्रहरी परिसरमा लगिएको प्रहरीले जानकारी दिएको छ।

राप्रपाको आज निषेधित क्षेत्र तोड्ने योजनाका साथै गिरफ्तारी दिने तयारी थियो । प्रहरीले उनीहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्नसक्ने भन्दै बिहानैदेखि निगरानीमा राखेको थियो ।

राप्रपाले निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने बताएपछि बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो । गृहमन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै कानुन उल्लंघन नगर्न आग्रह गरेको थियो ।

मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको थियो । तर, मन्त्रालयको आग्रहको अवज्ञा गर्दै निषेधित क्षेत्रमै प्रदर्शनमा उत्रिएपछि राप्रपाका सांसदहरूलाई नियन्त्रणमा लिएको परिसरले जनाएको छ ।

Translate »