विश्व रेडक्रस दिवस : रक्तदान गर्न सबैमा रेडक्रसको आग्रह


सुर्खेत । विश्व रेडक्रस सोसाईटीको स्थापना दिवसमा एक दर्जन बढीले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी सुर्खेत शाखा अन्तर्गत उत्तरगंगा उपशाखाको सक्रिय पहल तथा समन्वयमा होप पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टर प्रालिको आयोजनामा विश्व रेडक्रस दिवस मनाउने क्रममा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रेडक्रस सोसाइटी सुर्खेतले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमलाई तीव्रता दिईएको बताएको छ ।
ऐरी चोकमा रक्तदानका लागि इच्छुक सर्वसाधारण सबैलाई बोलाइएकोमा शनिबार १३ जनाले रगत दान गरेको सोसाईटी उत्तरगंगा शाखाका सभापति बसन्तकुमार रेग्मीले बताए । उनले रेडक्रस सोसाईटी सुर्खेत रक्त सञ्चार केन्द्र (ब्लड बैंक) को प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा संकलित रगत सबै सोही बैंकमा राखिने जनाए ।
‘रक्त दान जीवन दान’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा स्वास्थ्यकर्मी सामाजिक अगुवा, महिला, युवा, विद्यार्थी र सर्वसाधारणले रगत दान गरेका थिए । नेपाल रेडक्रस सोसाईटी केन्द्रीय सदस्य रामलाल आचार्यले रक्तदान कार्यक्रम सञ्चालन गरेर ब्लड बैंकमा जम्मा गरी आवश्यक पर्दा जोकसैलाई निःशुल्क रगत उपलब्ध गराउने नीति अघि सारिएको बताए ।

उनले प्रदेश अस्पताल सुर्खेतमा आउने विरामीलाई मध्यनजर राख्दै जुनसुकै बेला कुनै पनि विरामीलाई रगत अभाव हुन नदिन पर्याप्त रगत जोहो गर्ने उदेश्य लिएर रेडक्रस सोसाईटीले जिल्ला र मातहत उपशाखामार्फत रक्त संकलन कार्यलाई प्रोत्साहन गरिएको जनाए । केही वर्षयता प्रदेश अस्पतालमा हाडजोर्नी, पायल्स, फिस्टुला, पत्थरी, एपेन्डीसाईटिस, हर्निया, जटिल खालका गर्भवती महिलाको अप्रेसन (सिएस) प्रणालीबाट बच्चा जन्माउने सेवालगायतको शल्यक्रिया (अप्रेसन) सहितको उपचार सेवा प्रवाह हुदै आएको छ ।

गर्भवती महिला र अन्य रोगको अप्रेसन गर्दा कसैलाई पनि रगतको अभाव नहोस् भन्ने उदेश्यले सोसाईटीले रक्तदान अभियान चलाउन थालेको सभापति आचार्यको भनाई छ। सोसाईटीले रक्तदान गर्ने र उनीहरुको परिवारलाई मात्र नभएर सबै सर्वसाधारण विरामीलाई पनि आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने गरी रक्तदान कार्यक्रम अभियानकै रुपमा अगाडि बढाईएको रेडक्रस सुर्खेत शाखाका मन्त्री चेतनकुमार सुवेदीले बताए ।

उनले रक्तदान कार्यक्रममा रगत दिनेहरुको ठूलो उत्साह देखिएको जनाउँदै शहर बजारमा सचेतना दिन सकिए अझै धेरै रगत सङ्कलन हुन सक्ने देखिएको जनाए । मानवको जीवन रक्षा तथा सामाजिक उत्तरदायित्वको भावना बोकेर सचेतना अभिवृद्धिका लागि रक्तदान कार्यक्रममा आफु सहभागी भएको डाक्टर सरोज गिरीले बताए ।
उनले रक्तदान गर्ने जागरुकता अभिवृद्धिका लागि रक्तदान कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । सो रक्तदान कार्यक्रममा सुर्खेतका सर्वाधिक रक्तदान गरेका प्रवाशकुमार शाक्यलगायतको सहभागिता रहेको थियो ।


