वीरेन्द्रनगर जेसीजद्वारा विपन्न नागरिकका लागि औषधिसहितको निःशुल्क स्वास्थ्य शिविर


सुर्खेत । वीरेन्द्रनगर जेसीजले विपन्न, असाहय तथा सीमान्तकृत नागरिकका लागि औषधिसहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको छ ।
जेसीजले अमेरिकन कम्पनी मेटलाईफ इन्स्योरेन्सको आर्थिक सहयोगमा विशेषज्ञ चिकित्सकद्वारा आउँदो जेठ ३ गते मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको सेमिनार हलमा औषधिसहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।
औषधिसहितको निःशुल्क स्वास्थ्य शिविरबाट पैसाको अभावले रोग लुकाउन बाध्य विपन्न, असाहय तथा सीमान्तकृत नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा राखिएको वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष तथा निःशुल्क स्वास्थ्य शिविर संयोजक श्यामकुमार थापाले बताए ।
जेसीजले पत्रकारहरुलाई निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको जानकारी दिन आज साँझ वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक थापाले कर्णाली प्रदेशकै उत्कृष्ट विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्न लागिएको जनाए ।


उनले शिविरमा स्वास्थ्य सचेतना अभिबृद्धि, प्रारम्भिक रोग पहिचान तथा सर्वसाधारणलाई विशेषज्ञ सेवासँगै आवश्यक औषधि उपलब्ध गराईने बताए ।
उनका अनुसार शिविरमा कन्सल्टेन्ट (ईएनटी) टाउको तथा घाँटी शल्यचिकित्सा विशेषज्ञ सेवा डाक्टर पारश पौडेल, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डाक्टर शुभ श्रेष्ठ, कन्सल्टेन्ट स्त्रीरोग विशेषज्ञ सेवा डाक्टर कृतिका थापा श्रेष्ठ, कन्सल्टेन्ट फिजिसियन डाक्टर कुलराज शाही र कन्सल्टेन्ट ओर्थोडन्टिक्स डाक्टर सुरक्षा सिंह ठकुरीले निल्शुल्क सेवा दिने छन् ।
शिविरमा मुख्तहः रक्तचाप (विपी) जाँच, रगतमा चिनी (सुगर) जाँच, सामान्य दन्त परामर्श तथा मुख स्वास्थ्य परीक्षण, स्त्रीरोगसम्बन्धी परामर्श, नाक, कान, घाँटी सम्बन्धी जाँच र सल्लाह, हाडजोर्नी तथा हड्डी सम्बन्धी परीक्षण र सामान्य चिकित्सकीय जाँच तथा परामर्श सेवा उपलब्ध हुने वीरेन्द्रनगरका जेसीजका अध्यक्ष दिलिपजंग शाहीले बताए ।
उनले आम सर्वसाधारणलाई निल्शुल्क स्वास्थ्य शिविरको अधिकतम् लाभ उठाउन आग्रह गरे । शिविरका लक्षित वर्ग झुप्राखोलाका बादी समुदाय र गिरीघाटका बाढीपीडितलाई निःशुल्क बस मार्फत आउन र जाने व्यवस्था मिलाउनका लागि यातायात व्यवसायीहरुसँग सल्लाह भईरहेको समेत उनले जनाए ।


