२०८३ असोज २१ , बुधबार
Sky News Nepal
October 7, 2026

बुद्धिजीवी परिषद् सुर्खेतद्वारा अग्रज समाजसेवी कार्कीलाई मरणोपरान्त सम्मान



सुर्खेत । नेपाल बुद्धिजीवी परिषद् सुुर्खेतले अग्रज समाजसेवी सीताराम कार्कीलाई मरणोपरान्त सम्मान गरेको छ ।

परिषद्ले आज सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी अग्रज समाजसेवी स्वर्गीय कार्कीकी श्रीमती कल्पना कार्कीलाई सो सम्मानपत्र प्रदान गरेको हो । स्वर्गीय कार्कीले आफ्नो जीवनकालमा धार्मिक, सामाजिक, साङ्गठनिक, शैक्षिकलगायत समग्र क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै मरणोपरान्त सम्मान गरिएको परिषद्ले जनाएको छ ।

नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटा, उपाधयक्ष मोहनसिंह बडुवाल, परिषद् सुर्खेतका अध्यक्ष थानेश्वर लामिछाने, उपाध्यक्ष हस्तबहादुर पुलामी, सचिव महेन्द्रविक्रम बीसीलगायतले स्वर्गीय कार्कीकी श्रीमती कल्पना कार्की, उनका छोराछोरी, बुहारी र नातिनीलाई संयुक्तरुपले उक्त सम्मान पत्र प्रदान गरेका हुन् ।

सम्मान पत्र कार्यक्रममा दिवङ्गत कार्की झापाको दमक–६, ढुकुरपानीमा जन्मेरपनि सुर्खेतलाई कर्मभूमि बनाएर समाज परिवर्तनका लागि ठूलो योगदान पु¥याएको नेकपा एमाले सुर्खेतका अध्यक्ष देवकोटाले बताए । उनले जन्म र मृत्यु शाश्वत सत्य भएकाले हरेक मानिसले जीवित रहुन्जेल आफूलाई सत्कर्ममा लगाउनु नै महानता भएको जिकिर गरे ।

आफ्नो पार्टीले स्वर्गीय कार्कीको योगदानको उच्च मूल्यांकन गरेको बताउँदै उनले आगामी दिनमा समेत कार्कीका परिवारको संरक्षणसँगै उनका असल विचार तथा कर्मलाई स्थापित गर्न सहयोग गरिने जनाए ।

कार्यक्रममा परिषद्का अध्यक्ष लामिछानेले स्वार्गीय कार्की मृदुभाषी, शिष्ट, मिलनसार, साङ्गठनिक नेतृत्व क्षमता र सामाजिक सेवाभाव लगायतका सत्कर्मले भरिएको बहुआयामिक व्यक्तित्व भएको बताए । सुर्खेती समाजमा कार्कीले पु¥याएको योगदान भावी पुस्ताले अनुकरण गरिरहने बताउँदै उनले कार्कीका परिवारजनको सुखशान्ति, समृद्धिसहित सुदीर्घयुको कामना व्यक्त  गरे ।

कार्यक्रममा परिवारका तर्फबाट स्वर्गीय सीताराम कार्कीकी छोरी डा. अनुष्का कार्कीले समाजका लागि आफ्ना वुवाले गरेका असल कार्यसँगै असल मूल्य मान्यतालाई परिषद्ले स्थापित गरेर मरणोपरान्त सम्मान गरेकोप्रति धन्यवाद व्यक्त गर्दै आफ्नो परिवारलाई थप उत्तरदायित्व र जिम्मेवार बनाएको बताईन् । उनले समाजका लागि आउदा दिनहरुमा वुवाका अधुरा सपना पुरा गर्न आफुहरुलाई थप प्रेरित र हौसाला मिलेको जनाईन् ।

सोही कार्यक्रममा परिषद्ले आफ्नो मुखपत्र ‘समृद्धिका लागि बुद्धिजीवि’ भन्ने नाराका साथ सामयिक प्रकाशन ‘नवप्रज्ञान्तरण’ नामक पुस्तक सार्वजनिक छ । पुस्तक माथि नेकपा एमाले कर्णाली प्रदेश सल्लाहकार परिषद्का सदस्य डोरप्रसाद उपाध्यायले समिक्षात्मक टिप्पणी गरे

पुस्तकमा नेपाल बुद्धिजीवि परिषद् सुर्खेतको ईतिहाससँगै डा. दीपक गौतम, डा.लीलाधर तिवारी, डा. आनन्दप्रसाद सुवेदी, डा. पुष्पराज आचार्य, डा. विष्णुकुमार खड्का, डा.बुद्धिप्रसाद सापकोटालगायतका समसामयिक अनुसन्धानमुलक लेख तथा रचनाहरु समेटिएका छन् ।

को हुन् दिवङ्गत सीताराम कार्की ?

माता लीलाकुमारी कार्की र पिता ललितबहादुर कार्कीका छोरा सीतारामको जन्म वि.सं.२०१५ चैत्र १३ मा भएको थियो । आफ्नो जन्मथलो पूर्वी नेपालबाट वि.सं.२०४३ मा सुर्खेत आएर कार्कीले टाइपिङ इन्स्टिच्युट खोलेर केही समय सेवा गरी त्यसपछि आदर्शराज मेमोरियल स्कुलको स्थापना गरेका थिए ।

बालबालिकाहरुको पठनपाठनमा संलग्न रहेका कार्की निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुर्खेतको दुई कार्यकाल (२०५९–०६४) अध्यक्ष, नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, लाइन्स क्लब सुर्खेतको अध्यक्ष समेत रहेका थिए ।

मौदगल्य सेवा समाज सुर्खेतको दुई कार्यकाल अध्यक्ष, सुर्खेतमा मध्यपश्चिम विश्वविद्यालय स्थापनार्थ गठित महायज्ञ मूल समितिको संयोजक, सुर्खेतमा मोक्षघाट निर्माणार्थ लगाइएको महायज्ञ समितिको महासचिव, नेपाल बुद्धिजीवी परिषद् जिल्ला कमिटी सुर्खेतको कोषाध्यक्ष (२०६६) र सल्लाहकार (२०६८) लगायतका विभिन्न धार्मिक, सामाजिक, साङगठनिक र शैक्षिक संस्थामा आवद्ध थिए ।

तर,दुर्भाग्यवस ! विश्वव्यापी फैलिएको कोरोना महामारी प्रकोपमा परी वि.सं.२०७८ श्रावण २६ गते उनको निधन भएको थियो ।

प्रकाशित मिति : २०८२ जेठ ६ गते मंगलबार
Translate »