निजी सवारीसाधनलाई यात्रु ओसारपसार गर्न दिएकोमा आपत्ति जनाउँदै देशैभर यातायात ठप्प


सुर्खेत । यातायात व्यवसायी तथा मजदुरले निजी सवारीसाधनलाई यात्रु ओसारपसार गर्न दिएकोमा आपत्ति जनाउँदै यातायात सेवा ठप्प पारेका छन् ।
यातायात व्यवसायी तथा मजदुरले आज एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर ‘राइड सेयरिङ’ का नाममा निजी सवारीसाधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएकोमा आपत्ति जनाएका हुन् ।
यातायात व्यवसायी तथा मजदुरले सोमबारदेखि सवारीसाधन थन्क्याएर सेवा ठप्प पार्ने घोषणा गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य मदनकृष्ण सुवेदीले जनाए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कर्णाली प्रदेश संयोजक रमेशकुमार सापकोटाले संविधानको धारा, ५७ को उपधारा ६, उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत निजी सवारीलाई सार्वजनिक यातायात सरह मान्यता दिएको भन्दै आन्दोलनमा जान बाध्य हुनुपरेको बताए ।

प्रदेश सरकार र सङ्घ सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै बाध्य भएर सेवा बन्द गर्न लागिएको उनको भनाइ छ ।
आन्दोलनमा सार्वजनिक यातायात केन्द्रीय महासङ्घ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात व्यवसायी महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ, एकीकृत समाजवादी यातायात मजदुर सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनलगायतले ऐक्यबद्धता जनाएका छन् ।
यता गृहमन्त्री रमेश लेखकले आन्दोलनरत यातायात व्यवसायीका पदाधिकारीसँग छलफल चलाई रहेका छन् । अहिले गृह मन्त्रालयमा दुवै पक्षबीच छलफल चलिरहेको छ।
‘राइड सेयरिङ’लगायत विभिन्न माग राख्दै यातायात व्यवसायीहरूले आन्दोलन गरिरहेका छन् । आज देशभरि नै सार्वजनिक यातायात ठप्प रहेको छ।

