गाउँ पस्यो बजार अनुगमन टोली


सुर्खेत । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले गाउँवस्तीका पसलहरुको नियमन, नियन्त्रण तथा बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ ।
निर्देशनालयका निर्देशक देवीलाल सापकोटाको संयोजकत्वमा सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी दिलबहादुर कार्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका खाद्य निरीक्षक सन्तोष घिमिरे, चिङ्गाड गाउँपालिकाका उद्योग शाखा प्रमुख खडकबहादुर चन्द, ईलाका प्रहरी कार्यालय अवलचिङ्गका प्रमुख (प्रनानी) पूर्णबहादुर बोहरा, चिङ्गाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवबहादुर नेपाली र राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीहरुको टोलीले गाउँ–शहरका पसलहरुमा म्याद नाघेका, अखाद्य वस्तु बिक्री नहोस् र उपभोक्ता ठगिन नपाउन् भन्ने उद्देश्यले बजार अनुगमन कार्यलाई तीव्रता दिएको हो ।

विहीबार बजार अनुगमन टोलीले चिङ्गाड गाउँपालिकाको टाँटी बजारका २० बढी पसल तथा उद्योगहरुको छड्के चेकजाँच गरेको छ ।
उपभोक्ताको स्वास्थ्य र अधिकार सुरक्षित राख्न अनुगमन टोलीले खाद्य तथा पेय पदार्थको उपभोग्य मिति, मूल्यसूची, पसल दर्ता, ढक, तराजु र डिजिटल काँटा प्रमाणित भए/नभएको निरीक्षण गरेको चिङ्गाड गाउँपालिकाका उद्योग शाखा प्रमुख खडकबहादुर चन्दले बताए ।
उनले अनुगमनका क्रममा भेटिएका केही मापदण्डविपरीत काम गर्ने पसलेहरुलाई पहिलो पटकको हकमा जरिवानादेखि पसल नै बन्द गर्ने सम्मको कारबाही गरिने चेतावनी दिएर छोडिएको जनाए ।

यतिबेला बजार अनुगमन टोली बजार नियन्त्रण तथा नियमन गर्न गाउँ पसेको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी दिलबहादुर कार्कीले बताए ।
उनले विशेषज्ञ सहित गठन गरिएको बजार अनुगमन टोलीले सुर्खेतका नौ वटै पालिकामा नियमित र छड्के अनुगमनलाई तीव्रता दिएको जनाए ।

‘उपभोक्ताको स्वास्थ्य हित संरक्षणका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, स्थानीय प्रशासनसँगै पालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र गुणस्तर तथा नापतौल कार्यालयहरुले बजार अनुगमन कार्यलाई तीव्रता दिएका छन्,’ उनले भने, ‘पसलहरुमा हुने कालोबजारी र म्याद गुज्रेका सामानको बिक्री रोक्न एकल वा संयुक्त बजार अनुगमन टोलीले तीव्रता दिएका हुन् ।’
उनका अनुसार मुख्यतः बजार अनुगमन टोलीले मापदण्डविपरीत सञ्चालित पसलहरुलाई जरिवानासँगै सिलबन्दीसम्मको कारबाही गर्न सक्नेछ ।
यता उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक देवीलाल सापकोटाले बजार अनुगमनका क्रममा खाद्य सामग्रीको गुणस्तर, मूल्यसूची, पसल दर्ताको अवस्था, करचुक्ता तथा नवीकरण, म्याद गुज्रेका सामान विक्री वितरण भए/नभएको चेकजाँच गरिएको जनाए ।
उनले सरकारी निकायबाट गरिने नियमित बजार नियन्त्रण तथा नियमन कार्यले सचेतना बढ्नुका साथै व्यवसायीहरुलाई जिम्मेवार बन्न सहयोग पुगेको बताए ।

