२०८३ भदौ १८ , बिहीबार
Sky News Nepal
September 3, 2026

रैथाने बाली प्रवद्र्धन



कर्णालीको पहिचान केवल भौगोलिक विकटता र गरिबीसँग मात्र जोडिनु हुँदैन । यहाँको उर्वर भूमि, मौलिक कृषि प्रणाली र पुस्तौंदेखि संरक्षण हुँदै आएका रैथाने बाली पनि कर्णालीको महत्वपूर्ण पहिचान हो । कोदो, फापर, जौ, चिनो, कागुनोजस्ता खाद्य बाली पोषण, जैविक विविधता र स्थानीय अर्थतन्त्रका दृष्टिले महत्वपूर्ण छन् । कर्णालीको कृषि सम्भावनाको चर्चा धेरै हुन्छ, तर यहाँका किसानले उत्पादन गरेका वस्तुले उचित बजार र मूल्य नपाउने समस्या अझै उस्तै छ । अर्कोतर्फ बाली उत्पादन गर्ने किसान भने बजारको अभाव, प्रशोधन सुविधाको कमी र उचित मूल्य नपाउँदा परम्परागत खेतीबाट विमुख हुँदै गएका छन् । तर उत्पादन भए पनि उचित प्रशोधन, बजार र मूल्य नपाउँदा किसानले यस्ता बालीप्रति क्रमशः रुचि गुमाउँदै गएका छन् । यस्तो अवस्थामा सुर्खेतको वीरेन्द्रनगरमा ‘वातावरण खाद्य उद्योग’ सञ्चालनमा आउनु सकारात्मक सुरुवात हो ।
वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालनमा ल्याएको उद्योगले कृषकबाट रैथाने बाली खरिद गरी आधुनिक प्रविधिमार्फत कुटानी–पिसानी, प्रशोधन र बजारीकरण गर्ने लक्ष्य लिनु प्रशंसनीय छ । यसले किसानले उत्पादन गरेको अन्नलाई स्थानीय बजारमै सीमित नराखी जिल्लाबाहिरसमेत पु¥याउने सम्भावना सिर्जना गरेको छ । उद्योगमा गरिएको एक करोड २५ लाख रुपैयाँको प्रारम्भिक लगानी र भविष्यमा दुई करोड रुपैयाँसम्म लगानी विस्तार गर्ने योजनाले यस क्षेत्रको सम्भावनाप्रति देखाइएको विश्वासलाई पनि प्रतिबिम्बित गर्छ । तर उद्योग स्थापना हुँदैमा मात्र किसानको समस्या समाधान हुँदैन । यसको वास्तविक सफलता किसानले उत्पादन गरेको बालीले उचित मूल्य पायो कि पाएन, उत्पादनको नियमित खरिद भयो कि भएन र उपभोक्ताले प्रशोधित वस्तु विश्वासका साथ प्रयोग गरे कि गरेनन् भन्ने कुराले निर्धारण गर्नेछ । त्यसैले उद्योगले किसानसँग दीर्घकालीन सहकार्य र खरिदको सुनिश्चितता गर्न आवश्यक छ । उत्पादनको मात्रा, गुणस्तर र मूल्य निर्धारणमा पारदर्शिता कायम गर्न सके किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न सकिन्छ ।

रैथाने बालीको प्रवद्र्धन खाद्य उद्योग वा सहकारीको मात्र जिम्मेवारी होइन । स्थानीय, प्रदेश र संघीय सरकारले पनि यसलाई कृषि नीति र कार्यक्रमको प्राथमिकतामा राख्नुपर्छ । किसानलाई उन्नत बीउ, प्राविधिक ज्ञान, भण्डारण, सिँचाइ तथा बजारको पहुँच उपलब्ध गराउन सके रैथाने बाली उत्पादनको क्षेत्र विस्तार गर्न सकिन्छ । साथै विद्यालय, सरकारी कार्यालय तथा होटल–रेस्टुरेन्टमा स्थानीय खाद्य उत्पादनको प्रयोग बढाउने नीति पनि प्रभावकारी बनाईनु पर्छ । तर उद्योग खुल्नु मात्र पर्याप्त छैन । उद्योगको सफलता त्यसले कति मेसिन सञ्चालन ग¥यो वा कति उत्पादन बजारमा पठायो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ १७ गते बुधबार
Translate »