२०८३ असोज २७ , मंगलबार
Sky News Nepal
October 13, 2026

चार्डपर्व लक्षित विशेष सुरक्षा योजनामा कर्णाली प्रदेशभर पाँच हजार बढी प्रहरी परिचालन

ड्रोन र कुकुरबाट पनि निगरानी


सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले  प्रदेशभर पाँच हजार बढी प्रहरी परिचालन गरेर चाडपर्व विशेष सुरक्षा योजना लागु गरेको छ ।

दशैं, तिहार, छठलगायत पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना अन्तर्गत प्रदेशका दशवटै जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय तथा सुदृढ बनाउन पाँच हजार ३ सय १४ प्रहरी परिचालन गर्ने भएको हो । दशैं, तिहार, छठलगायत पर्वलाई लक्षित गरी प्रदेशभर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरिएको कर्णाली प्रदेश प्रमुख (डीआईजी) जयराज सापकोटाले बताए ।

चाडपर्वमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, जनधनको सुरक्षा, महिला, बालबालिका, अपाङ्ग एवं जेष्‍ठ नागरिकको सुरक्षा र अधिकारको सम्मान गर्न प्रहरीले सुरक्षा योजना अवलम्बन गरेको डीआईजी सापकोटाले जनाए । नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन योजनाबद्ध रुपमा प्रहरी परिचालन, अनुगमन तथा सुरक्षा मापदण्ड समेतलाई लक्षित गरी सुरक्षा योजना अवलम्बन गरिएको हो ।

सो अवधिमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा हुनसक्ने दंगा, लुटपाट वा अन्य अप्रिय घटनाहरु, एक स्थानमा घटेको घटनाले अर्को स्थानमा समेत प्रभाव पारी शान्ति सुरक्षामा खलल पुग्न सक्ने जस्ता सुरक्षा चुनौतीहरुप्रति विशेष रुपमा सचेत भई सुरक्षा योजना अवलम्बन गरिएको दाबी प्रहरीको छ ।

चाडपर्वमा हुनसक्ने ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार, अवैध हुण्डी कारोबार लगायतका आपराधिक गतिविधिहरु बढ्न सक्ने विश्लेषण गरी सोही अनुसारको सुरक्षा रणनीति बनाइएको छ । खुला सीमानाकाहरुबाट अवैध हातहतियार, पटका, विस्फोटक पदार्थ, लागुऔषध लगायतको ओसारपसार तथा तस्करी नियन्त्रणमा समेत विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले बताएको छ ।

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत कर्णाली प्रदेशभर ५ हजार ३ सय जनशक्ति परिचालन हुनेछन् । साथै, सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउन नागरिक–प्रहरी सहकार्यलाई विशेष प्राथमिकतामा राखेर स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र सरोकारवाला निकायसँग निरन्तर सहकार्य तथा समन्वय गरिने प्रहरीले बताएको छ ।

चाडपर्व सुरक्षा परम्परागत शैलीभन्दा पनि प्रविधिमा आधारित सुरक्षा निगरानीलाई विशेष प्राथमिकतामा राखिएको डीआईजी सापकोट बताउँछन् । लामो दुरीका सार्वजनिक सवारी साधनमा यात्रुहरुको चाप बढ्ने भएकाले यात्रु तथा राजमार्ग सुरक्षालाई विशेष मध्यनजर गरी नेपाल प्रहरीबाट यात्रुको सुरक्षा तथा सडक सुरक्षा व्यवस्थापन गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

सुर्खेतबाट बाहिरिने सवारी साधनहरुको सम्बन्धमा बाहिरिनुभन्दा अघि नै प्रत्येक चालकहरूको सवारी चालक अनुमतिपत्र चेकजाँच, मादक पदार्थ एवं लागुपदार्थ सेवन चेकजाँच, सिट क्षमताअनुसार यात्रु राखे/नराखेको चेकजाँच, ट्राफिक कम्युनिकेसन एपको प्रयोग गरी लामो दुरीका सवारी साधनहरुमा २ जना चालक भए/नभएको चेकजाँच गर्ने र प्रत्येक सवारी साधनहरुको मेकानिकल टेस्ट गरेको प्रमाणपत्रसमेत चेकजाँच गरिने छ ।

प्रदेश प्रवेश सीमानाकाका विभिन्न स्थानमा हेल्प डेस्क स्थापनामा गरी थप जनशक्ति परिचालन गरिएको छ । यात्रु सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गर्ने, हराएका र भेटिएका व्यक्ति तथा सामानसम्बन्धी समन्वय गर्ने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सहायता गर्ने, यात्रुहरुको गुनासो तत्काल सम्बन्धित प्रहरी कार्यालयमा पठाउने र शंकास्पद गतिविधिको सूचना संकलन गरी आवश्यक रुपमा प्रहरी परिचालन गरिने छ ।

चाडपर्वको समयमा सुरक्षाको लागि उपलब्ध आधुनिक प्रविधिहरु सीसीटीभी क्यामेरा, बडीवर्न क्यामेरा, ड्रोनको प्रयोग, तालिम प्राप्त कुकुरहरु परिचालन तथा प्रहरी सञ्चार प्रणालीमार्फत रियल टाइम सूचना आदानप्रदान गरिनुका साथै सामाजिक सञ्जालहरुको निगरानी गरी सामाजिक सञ्जालमा प्रवाह हुने डिजिटल सूचनाको विश्लेषण गरी सुरक्षा व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन आवश्यक प्रहरी परिचालन गरिएको छ ।

चाडपर्वको अवसरमा विभिन्न आकर्षक उपहार दिने भन्दै हुनसक्ने नक्कली अनलाइन सपिङ, अनलाइन ठगी, बैंकिङ ठगी, ओटीपी, पिन, पासवर्ड मागेर हुनसक्ने फिसिङ लगायतको डिजिटल आपराधिक गतिविधि नियन्त्रण गर्न त्यस्ता गोप्य विवरण कसैले माग्दैमा नदिन पनि प्रहरीले आग्रह गरेको छ ।

बैंक तथा वित्तीय संस्था, बसपार्क तथा सार्वजनिक यातायात केन्द्र, विमानस्थल, धार्मिक स्थल, पर्यटकीय स्थल, मनोरञ्जन स्थल, मुख्य सडक तथा चोक, शहरका प्रवेश/निकास नाका, सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रहरुलाई विशेष प्राथमिकतामा राखी प्रहरी परिचालन गरिने बताइएको छ ।

प्रकाशित मिति : २०८३ असोज २७ गते मंगलबार
Translate »