

कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताको आर्थिक आवश्यकता पूरा गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । कोषको सुर्खेत शाखाले आर्थिक वर्ष २०८२/८३ मा मात्रै ९८ करोड ३ लाख २४ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गर्नुले सञ्चयकर्ताको आर्थिक जीवनमा यसको महत्वपूर्ण भूमिका रहेको देखाउँछ । विशेष सापटी, घर तथा जग्गा खरिद, घर निर्माण र मर्मतका लागि उपलब्ध गराइने कर्जाले सञ्चयकर्तालाई आर्थिक सहजता प्रदान गर्न सक्छ । सञ्चयकर्ताको योगदानमा आधारित रकमलाई आवश्यकता पर्दा उपयोग गर्न पाउनु कोषको सकारात्मक पक्ष हो । विशेषगरी घर निर्माण, जग्गा खरिद, शिक्षा तथा अन्य सामाजिक आवश्यकताका लागि उपलब्ध हुने सापटीले नागरिकलाई आर्थिक योजना बनाउन सहयोग पु¥याउँछ । त्यस्तै, औषधोपचार, किरियाखर्च तथा सुत्केरी र शिशु स्याहारजस्ता सुविधाले सञ्चयकर्तालाई अप्ठ्यारो परिस्थितिमा आर्थिक राहत दिन्छन् ।

आर्थिक वर्ष २०८२/८३ मा सामाजिक सुरक्षा सुविधाअन्तर्गत एक हजार २३८ जनालाई ९९ लाख ७२ हजार रुपैयाँ उपलब्ध गराइनुले यस्ता कार्यक्रमको व्यावहारिक महत्व उजागर गर्छ । यद्यपि, कोषको सफलता लगानीको ठूलो परिमाणमा मात्र सीमित हुनु हुँदैन । सञ्चयकर्ताले सापटी तथा सामाजिक सुरक्षा सुविधा सहज, पारदर्शी र समयमै प्राप्त गर्न सकेका छन् कि छैनन् भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ । कर्जा प्रक्रियालाई सरल बनाउने, सेवा प्रवाहमा हुने ढिलाइ हटाउने र सुविधाबारे पर्याप्त जानकारी उपलब्ध गराउनेतर्फ कोषले विशेष ध्यान दिनुपर्छ । सापटीको ब्याजदर, भुक्तानी प्रक्रिया तथा धितोसम्बन्धी प्रावधान सञ्चयकर्ताको हितअनुकूल र स्पष्ट हुन आवश्यक देखिन्छ । कोषले सञ्चयकर्ताको रकम परिचालन गर्दा लगानीको प्रतिफल, वित्तीय अनुशासन र दीर्घकालीन दायित्वलाई समेत ध्यान दिनुपर्छ ।
सञ्चयकर्ताको बचत सुरक्षित राख्नु र भविष्यमा प्राप्त गर्नुपर्ने रकमको प्रत्याभूति गर्नु कोषको प्रमुख जिम्मेवारी हो । त्यसैले लगानीको प्रभावकारिता, जोखिम व्यवस्थापन र सेवाग्राहीको सन्तुष्टिको नियमित मूल्यांकन आवश्यक छ । समग्रमा, कर्मचारी सञ्चय कोषले सुर्खेतमा गरेको लगानी र उपलब्ध गराएका सामाजिक सुरक्षा सुविधाले सञ्चयकर्ताको आर्थिक तथा सामाजिक सुरक्षामा योगदान पु¥याएका छन् । अबको आवश्यकता लगानीको आकार बढाउनु मात्र नभई त्यसको लाभ वास्तविक आवश्यकतामा रहेका सञ्चयकर्तासम्म प्रभावकारी रुपमा पु¥याउनु हो । पारदर्शिता, सहज सेवा र सञ्चयकर्ताको हितलाई केन्द्रमा राख्न सके कोषप्रतिको विश्वास अझ बलियो बन्नेछ ।











